काभ्रेको महाभारतमा दुईदिनमै दुई गर्भवति र सुत्केरीकाे हेलिकप्टरबाट उद्वार र उपचार

मूलखबर संवाददाता
काठमाडौं, २५ साउन

काभ्रे जिल्लाकाे विकट क्षेत्र भनेर चिनिने महाभारत गाउँपालिकामा पछिल्ला दुई दिनको अवधिमा स्वास्थ्य अवस्था गम्भीर भएकी दुई सुत्केरी र गर्भवती महिलालाई प्रतिकूल मौसमका बीचमा हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वर्षा याममा सडक अवरूद्व हुने तथा लामाे दुरी रहेकाले हेलिकप्टरबाट सुत्केरी र गर्भवती महिलाकाे उद्वार गरिएको बताए । उनलेे गाउँपालिकाले समस्या परेका सुत्केरी र गर्भवती महिलाकाे उपचारको लागि हेलिकप्टरबाट उद्वार गर्दै आएको समेत जानकारी दिए ।

उनलेे राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत निःशुल्क सम्पन्न भएको यस उद्धार कार्यमा नेपाली सेनाको हेली एम्बुलेन्स सेवा र महिला, बालबालिका तथा वरिष्ठ नागरिक मन्त्रालयको निरन्तर विशेष सहयोग रहेको भन्दै धन्यवाद समेत दिएका छन् ।

 

साउन २४ गते महाभारत गाउँपालिका-१ निवासी २० कि सुजिता थिङ सुत्केरीपश्चात् मूत्र रोकिने गम्भीर स्वास्थ्य समस्यामा परेकी थिइन्। गोठगाउँ स्वास्थ्य चौकीमा उपचाररत उनलाई थप जटिलता हुनसक्ने देखिएपछि स्वास्थ्यकर्मीहरूको सिफारिसमा हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, प्रसूति तथा स्त्रीरोग विभागमा पुर्‍याइएको थियो।

त्यसैगरी, साउन २५ गते महाभारत गाउँपालिका-६ बनमुढीकी २५ वर्षीया सुनिता मोक्तान लामो समयसम्मको प्रसव पीडा र श्रोणी संकुचनका कारण सुत्केरी पश्चात् स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेकी थिइन्।

स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि उनलाई पनि नेपाली सेनाको हेली एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल, प्रसूति तथा स्त्रीरोग विभागमा पठाइएको हो।

महाभारत गाउँपालिकाका अध्यक्ष जिम्बाका अनुसार दुर्गम भौगोलिक अवस्था, प्रतिकूल मौसम र सीमित पूर्वाधारबीच उद्धार कार्य सफलतापूर्वक सम्पन्न गर्न नेपाली सेना र महिला, बालबालिका तथा वरिष्ठ नागरिक मन्त्रालयको विशेष योगदान रहेको छ। गाउँपालिकाले उद्धारमा संलग्न सबै पक्षलाई आभार प्रकट गरेको छ।

महाभारत गाउँपालिका देशभरमै सुन्य बेरूजु हुने पहिलो गाउँपालिका बन्न सफल भएको गाउँपालिका पनि हाे ।