माओवादी केन्द्रले बनायो पासाङको नेतृत्वमा उत्पादन विभाग, के छ सर्कुलरमा ?

मूलखबर संवाददाता
काठमाडौं, २३ साउन ।

नेकपा माओवादी केन्द्रले उपाध्यक्ष नन्दबहादुर पुन पासाङको नेतृत्वमा आर्थिक उत्पादन विभाग बनाउने भएको छ । माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समितिको बैठकबाट सो निर्णय गरिएको आज जारी गरिएको सर्कुलरमा उल्लेख गरिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा जारी गरि तल्लो कमिटिमा पठाइएको सर्कुलरमा स्थायी समिति सदस्य जनार्दन शर्माले बैठकमा आत्मालोचना गर्न सुझाव दिएपनि नमानेको र बैठकमा हस्ताक्षर गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरिएको छ । शर्माले पार्टी नेतृत्वविरुद्ध लगाएको निराधार आरोपलाई खारेज गर्ने निर्णय गरेको र आगामी दिनमा पार्टी नीति, विधि र नेतृत्वविरुद्ध त्यसप्रकारका सार्वजनीक अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको बताइएको छ ।

सर्कुलरमा समाजवादी आन्दोलनको विशेषता र आवश्यकतालाइ ध्यान दिँदै संगठनकर्ताहरुको व्यापक विस्तार र विकासमा ध्यान दिने कुरा उल्लेख गरिएको छ ।

अाज २६ बुँदामा जारी गरिएको सर्कुलरमा पार्टी कमिटिलाई एक कमिटि एक उत्पादन इकाईको रुपमा श्रम तथा उत्पादन अभियानसँग जोड्ने निर्णय गरिएको बताईएको छ ।

त्यसैगरी पार्टीको प्रचारात्मक कार्यलाइ व्यवस्थीत गर्नको लागि हरेक समितिहरुले एक जना सुचना तथा संचार हेर्ने व्यक्ति निश्चित गर्ने र सो को जानकारी प्रदेश कार्यलयमार्फत केन्द्रीय कार्यलयमा पठाउने निर्णय गरिएको छ ।

त्यसैगरी आगामी महाधिवेशनसम्म पार्टीका संगठीत सदस्यहरुको आन्तरिक मुल्यांकन र जनवादी प्रतिस्पर्धाको आधारमा उचित मुल्यांकन हुने गरी नविनतम मुल्यांकन मापदण्ड र निर्वाचन विधिको ठोस प्रस्ताव गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी माओवादीले सबै कमिटिहरुमा आत्मलोचना र आलोचनाको अभ्यास गर्ने भएको छ ।
माओवादीको स्थायी समिति बैठकले विभिन्न् स्तर र रुपमा देखा परेका गुट र स्वार्थ समुहहरु विघटन गर्ने निर्णय गरेको कुरा सर्कुलरमा उल्लेख गरिएको छ ।