उत्तराखण्ड बाढीमा नेपालका १७ जना बेपत्ता, प्रधानमन्त्री ओली र प्रचण्डद्वारा दुख व्यक्त
भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको हर्सिल क्षेत्रमा मंगलबार दिउँसो आएको बाढीमा नेपालका १७ जना बेपत्ता भएका छन्।
नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घटनाप्रति दुख व्यक्त गर्दै वेपत्ता भएका नेपाली नागरिकको खोजीका लागि पहल गर्न नेपाल सरकार र भात सरकारलाँग आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सो आग्रह गरेका हुन् ।
उनले लेखेका छन् – मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यमा बाढीले निम्त्याएको जनधनको ठूलो क्षतिले मर्माहत बनाएको छ। बाढीमा १८ जना नेपाली नागरिकसहित दर्जनौं भारतीय नागरिक वेपत्ता भएको यो दुःखद क्षणमा हामी भारत सरकार र भारतीय जनताको साथमा छौँ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले क्षति पु¥याएको दुःखद् खबरप्रति चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद् खबरले आफू चिन्तित भएको व्यक्त गरेका हुन् ।
उनले लेखेका छन् – “छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद् खबरले चिन्तित छु । बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु”,
प्रधानमन्त्री ओलीले बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर प्राप्त भएको र उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको समेत जानकारी दिएका छन् ।





