कैलालीमा कैदीबन्दीबीच कुटाकुट, पाँच घाइते

मूलखबर संवाददाता
कैलाली, २२ साउन

कैलाली जिल्ला कारागारमा कैदीबन्दीबिच कुटाकुट भएको छ। बिहीबार बेलुकी भएको कुटाकुटमा पाँचजना कैदीबन्दी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार थुनुवा राहुल राना, धिरज बम, मोहन राना, विषेशनाथ योगी र हिमाल राना घाइते भएका हुन्।

घाइतेलाई उपचारका लागि तत्कालै सेती प्रादेशिक अस्पताल लगिएको थियो। सामान्य घाइते चारजनालाई उपचारपछि कारागार फिर्ता लगिएको र एकजनाको सेतीमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

उनका अनुसार टाउकोमा गहिरो चोट लागेका राहुलको सेतीमा उपचार भइरहेको छ। उनको टाउकोको सिटिस्यान गरिएको छ। कैदीबन्दीबिच कुटाकुट हुनुको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।