अब माओवादीमा मिश्रीत निर्वाचन प्रणालीबाट कमिटि चयन गरिने

मूलखबर संवाददाता
काठमाडौं, २१ साउन ।

नेकपा माओवादी केन्द्रले आन्तरिक कमिटिमा हुने निर्वाचन प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ । हालै सम्पन्न स्थायी समिति बैठकबाट निर्वाचनबारे नयाँ निर्णय लिइएको माओवादी केन्द्रीय उपमहासचिव हरिबोल गजुरेलले बताए । पार्टीको स्थायी समिति बैठकले महत्वपूर्ण निर्णयहरु गरेको दावी गर्दै गजुरेलले २६ बुँदे समसामयीक प्रस्तावलाई नै निर्णय भनेर प्रचार गरिएको कुरा सहि नभएको बताए ।

मुलखबरसँगको कुराकानीमा गजुरेलले भने बैठकबाट संगठन, निर्वाचन प्रणाली, जनजिवीकाको सवालमा महत्वपूर्ण निर्णयहरु भएका छन् । उनका अनुसार बैठकले एक कमिटि एक उत्पादनलाई अनिवार्य कार्यन्वयन गर्ने कुरा गरेको छ । त्यसैगरी माओवादीले संगठीत सदस्य निर्माण गर्न कार्यकर्ता परिचालन गर्ने निर्णय पनि गरेको छ । संगठनकर्तालाई अन्तर भौगोलिक जिमेवारी दिने विषयमा पनि निर्णय गरेको छ । युद्धकालमा कार्यकर्तालाई आवश्यकताको आधारमा भुगोलको जिम्मेवारी दिने गरिएको थियो ।

त्यसैगरी बैठकले पार्टी कमिटिमा हुने आन्तरिक कमिटि चयन गर्दा अपनाइने निर्वाचन प्रणालीलाई मिश्रीत गर्ने गर्ने निर्णय गरेको छ । जस अनुसार मेरिटोक्रेसी र डेमोक्रेसीको मिश्रण निर्वाचन प्रणालीमा गरिनेछ । ५० प्रतिशत मेरिटोक्रेसी र ५० प्रतिशत डेमोक्रेसीको विधीबाट नेतृत्व र कमिटिमा निर्वाचित गर्ने व्यवस्था माओवादीले गर्न लागेको छ ।
पार्टीको केन्द्रीय समिति बैठक दशैंपछि गर्ने र सो बैठकले महाधिवेशनबारे निर्णय गर्ने बताइएको छ ।