कुलिङ पिरियड गडबडीमा राज्य व्यवस्था समिति सभापति र सचिव जिम्मेवार ठहर, अन्य सबै निर्दाेष ?
संघिय निजामती विधेयकमा रहेकाे कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई मुख्य जिम्मेवार ठहर गरेको छ ।
विधेयकको गडबडीमा संलग्न व्यक्ति किटानसहित कारबाही सिफारिस गर्ने कि नगर्ने भन्नेमै लगातार २१ घण्टासम्म रस्साकसी गरेर विशेष समितिले मंगलबार बिहान ४ बजे प्रतिवेदन तयार गरेको थियो । छानबिन समिति सभापति जीवन परियारले मंगलबारै प्रतिनिधिसभा बैठकमा प्रतिवदेन प्रस्तुत गरेका छन् । छानबिन समितिले दुई जनालाई नैतिक जिम्मेवार औंल्याए पनि कसैलाई कारबाहीको सिफारिस गरेको छैन ।
विधेयकमा समावेश ‘कुलिङ अफ पिरियड’ को प्रावधानलाई निष्क्रिय बनाउन सक्रिय भूमिका निर्वाह गरेका अधिकारीहरूलाई भने समितिले उन्मुक्ति दिएको छ । राज्य व्यवस्था समितिमा ‘कुलिङ अफ पिरियड’ माथि छलफल सुरु भएदेखि नै मुख्यसचिव अर्याल, महासचिव पाण्डेसहितका उच्चपदस्थ कर्मचारी विरोधमा उत्रिएका थिए । विधेयकमा ‘कुलिङ अफ पिरियड’ नराख्न उनीहरूले बारम्बार शक्ति केन्द्र धाएका थिए ।
छानबिन समितिले ‘कुलिङ अफ पिरियड’ विरुद्ध छेडखानीमा लागेका मुख्यसचिव एकनारायण अर्याल, प्रधानमन्त्री कार्यालयका कानुन सचिव फणीन्द्र गौतम, तत्कालीन कानुन सचिव उदयराज सापकोटा, सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई जिम्मेवारीबोधसमेत गराएको छैन ।
छानबिन समितिले सोधपुछमा लेखिएका विषय प्रमाणीकरणका लागि बोलाउँदासमेत उनीहरूले अवज्ञा गरेका थिए । उनीहरूले छानबिन समितिको औचित्य र कार्यक्षेत्रमाथि नै प्रश्न उठाएका थिए ।





