रसुवाको भोटेकोशी नदीमा एक्कासि बहाव बढेपछि, सतर्कता अपनाउन आग्रह

मूलखबर संवाददाता
काठमाडाैं, १४ साउन ।

चीनको तिब्बत हुँदै रसुवागढी आइपुग्ने भोटेकोशी नदीमा एक्कासि बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बुधबार बिहान २ बजेतिरबाटै नदीमा पानीको बहाव बढेको बताए । ुनदीमा बहाव बढेकाले हामीले तल्लो तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपानाउन सूचना जारी गरिसकेका छौँ,ु उनले भने ।

नदीमा आएको बाढीले रसुवागढी नाकामा चिनियाँ पक्षले बेलिब्रिज राख्नका लागि बनाउँदै गरेको बाटो पनि बगाएको उनले जानकारी दिए । मंगलबार राति पानी परे पनि अहिले भने रसुवामा पानी नपरेको सहायक प्रजिअ अधिकारीले जानकारी दिए । बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाँटा पनि बगाएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि त्रिशूली नदीमा जलसतह बढेको र आकस्मिक बाढी आएको रसुवाबाट जानकारी प्राप्त भएको उल्लेख गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय रसुवाले एक सूचना जारी गर्दै रसुवा भई बहने भोटेकोशी, त्रिशूली, लाङटाङ र चिलिमे खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो ।

जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट समेत आगामी केही दिन यस क्षेत्रमा भारी वर्षाका कारण नदीमा बहाव बढ्न सक्ने जानकारी आएको उल्लेख गर्दै प्रशासनले सावधानी अपनाउन आग्रह गरेको थियो । असार २४ गते भोटेकोशीमा आएको बाढीले नेपाल र चीनतर्फ ठूलो जनधनको क्षति भएको थियो ।