संविधान प्रदत्त स्वास्थ्यको हकलाई राज्यले कार्यान्वयन गर्नुपर्छ: वर्षमान पुन
माओवादी केन्द्रका उपमहासचिव एवम् पुर्व अर्थमन्त्री वर्षमान पुनले संविधान प्रदत्त स्वास्थ्यको हकलाई राज्यले जिम्मेवारीपूर्वक कार्यान्वयनमा गर्नुपर्ने बताएका छन् ।
पार्टीनिकट नेपाल उद्योग व्यापार महासंघले बुधबार चाबहिलमा गरेको कार्यक्रममा नेता पुनले स्वास्थ्य क्षेत्रलाई सरकारले कम्तिमा आधारभूत दायित्वलाई जिम्मेवारीपूर्वक लिनुपर्ने उल्लेख गरे ।
नेपालको स्वास्थ्य क्षेत्रमा बेथिति र बिचौलिया प्रवृत्ति हाबी रहेको आरोप लगाए । स्वास्थ्य क्षेत्रमा संविधानको व्यवस्था अनुसार राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै पुनले आफूहरूले सरकारमा वा सरकारबाहिर रहँदा पनि यो विषयलाई गम्भीरतापूर्वक लिइरहेको बताए ।
उनले उद्योगी व्यवसायीलाई सामाजिक उत्तरदायित्व पूरा गर्न आग्रह गरे । महासंघका अध्यक्ष खेम भण्डारीले संगठन स्थापनाको अवसरमा साताव्यापी रूपमा विविध कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए ।




