कुलिङ पिरियड हटाउने प्रयास गरे कांग्रेसले सरकारलाई बचाइ राख्दैन : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामति सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी राज्य व्यवस्था समितिको सिफारिसविरुद्ध काम भए कांग्रेसले सरकारलाई बचाइ नराख्ने बताउनुभएको छ ।
बिपी स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको विचार गोष्ठी र नेपाल तरुण दल मध्यपुरथिमि नगरसमितिको अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले कुलिङ पिरियड हटाउने प्रयास गरे वा समितिको सिफारिस विपरीत गर्न खोजिए आफूहरू सरकारबारे सोच्न बाध्य हुने बताउनुभयो ।
महामन्त्री शर्माले कुलिङ पिरियडका विषयमा जसले गलत गरे पनि कारबाही हुने बताउनुभयो । “कुलिङ पिरियडसम्बन्ध ज–जसले गलत गर्नुभएको छ, ती सबैलाई कारबाही हुन्छ र कुलिङ पिरियड दुई वर्षको ठाउँमा साढे दुई वर्ष होला तर हट्दैन”, उहाँले भन्नुभयो, “राष्ट्रियसभाबाट यसलाई समाधान गरिन्छ । कुलिङ पिरियडलाई प्रधानमन्त्रीको निर्देशनमा हटाउने प्रयास भएमा वा समितिबाट गरेको सिफारिसविरुद्ध काम भए कांग्रेसले यो सरकारलाई बचाइ राख्दैन ।”
उहाँले भूमि विधेयकको विषयमा छलफल चलिरहेकाले यसलाई समितिमा लगेर व्यापक सहमतिका साथ अगाडि बढाइने बताउनुभयो । महामन्त्री शर्माले अझै पनि देश बिपी कोइरालाको नीतिमा अगाडि बढेको भन्दै उहाँले कल्पना गरेअनुसारको विकासका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । “देश अहिले पनि बिपीले देखाएको बाटोमै छ । उहाँलाई अन्य दल, राजतन्त्र र स्वयम् कांग्रेसले राम्रोसँग बुझ्न सकेको भए देश धेरै अगाडि हुन्थ्यो । दश वर्षे सशस्त्र द्वन्द्व, राजतन्त्रको विदाइ, देशका अगाडि विविध समस्या यो ढङ्गले आउने थिएनन्”, उहाँले भन्नुभयो ।





