महाभाेज हेरेपछि प्रचण्डकाे प्रतिक्रिया – एकपटक अवश्य हेर्नुपर्ने रहेछ
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाभाेज चलचित्र एकपटक अवश्य हेर्नुपर्ने खालकाे रहेकाे बताउनुभएको छ ।
जनसाँस्कृतिक महासंघको बागमती प्रदेशकाे आयाेजनामा गरिएको च्यारिटी साेमा सहभागी भएपछि प्रचण्डले सामाजिक सञ्जालमा लेख्नुभएको छ- 
लामो समयपछि चलचित्र हेर्ने अवसर मिल्यो। आज मैले “महाभोज” चलचित्र हलमै गएर हेरेँ। चलचित्र निकै नै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लाग्यो।
त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन्। “यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ” भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ।
यस सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार मित्रहरू, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यहरूलाई म मनदेखि धन्यवाद दिन चाहन्छु।
आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ।





