मन्त्रीको घुस डिलबारे प्रधानमन्त्रीकाे जवाफ चाहियाे
कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा प्रमूख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारको जवाफ मागेको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद एवम् पुर्व सूचना संचार तथा प्रविधि मन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ? ’ पूर्वमन्त्री समेत रहेकी शर्माले भनिन्, ‘सम्मानीय प्रधानमन्त्रीज्यूलाई संसद्मा जानकारी गराउन अनुरोध गर्न चाहान्छु सभामुख मार्फत् ।’
यसको छानबिन गरेर दोषी जोसुकै होस् उसमाथि कडाभन्दा कडा कारबाही गरियोस् भनेर माग पनि उनले गरिन् । ‘अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ भन्ने कुरा पनि राख्न चाहान्छु,’ शर्माले भनिन् ।
पूर्वमन्त्री शर्माले आज बिहान काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा घाइते भएकाहरूको उपचारको उचित प्रबन्ध मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।





