स्पेनबाट फर्किए प्रधानमन्त्री ओली

मूलखबर संवाददाता
काठमाडौं, २० असार ।

स्पेनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिई आज मेड्रिडबाट कतारको दोहा हुँदै फर्केका हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली २०८२ असार १४ गते शनिबार स्पेन गएका थिए । स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो। यस्तै स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो।

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरेका थिए ।