इरानमाथि अमेरिकी आक्रमणको विरोधमा नेपालका एमालेबाहेकका ११ वामको एकै स्वर
नेपालका ११ वामपन्थी र राष्ट्रवादी विचारधारा समेटिएका राजनीतिक दलहरूले अमेरिकाले ईरानमाथि गरेको हवाई आक्रमणको संयुक्त विरोध गरेका छन् । उनीहरुले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको विरोध सार्वजनिक गरेका हन्। उउनीहरूले आज एक संयुक्त वक्तव्य जारी गर्दै इजरायल र अमेरिकाको क्रियाकलापलाई “सैन्य आक्रमण, साम्राज्यवादी हस्तक्षेप र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन” भनेका छन्।
संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने नेताहरूमा नेकपा (मसाल) का मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेकपा (माओवादी केन्द्र) का देव गुरुङ, नेकपा (विप्लव) का विप्लव सी, नेकपा (एकीकृत समाजवादी) का बलराम बास्कोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पवन् मान श्रेष्ठ, बैज्ञानिक समाजवाद पार्टी नेपालका आहुती, नेकपा (बहुमत) का कृष्णप्रसाद धमला, नेकपा उपाध्यक्ष रामबहादुर थापा, बाम बुद्धिजीवी निनु चापागाईं र राजनीतिक संवाद धामलीका संयोजक सुदीप श्रेता रहेका छन्।
वक्तव्यमा भनिएको छ, “गत वर्ष इजरायलले प्यालेस्टाइनमाथि आक्रमण गरेर गाजालगायतका क्षेत्रमा नरसंहार मच्चाएको घटना ताजै छ। त्यसको प्रतिकारमा हालै ईरानले गरेको कारबाही उसको सार्वभौम अधिकारभित्र पर्दछ। तर त्यसको बदलामा अमेरिका र इजरायलले गरेको पुनस् आक्रमण अत्यन्त आपत्तिजनक छ।”
वक्तव्यमा अमेरिका–इजरायलको कदमले पश्चिम एसिया क्षेत्रलाई युद्धको मैदान बनाउने खतरा रहेको र विश्वलाई ठूलो राजनीतिक अस्थिरता तर्फ धकेल्ने भनिएको छ। साथै, वक्तव्यदाताहरूले नेपाल सरकारले स्पष्ट रूपमा यो घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्न पनि माग गरेका छन्।
त्यसैगरी वक्तव्यमा भनिएको छ,“हामी युद्धको विरोधमा छौं, शान्तिका पक्षमा ऐक्यबद्धता जनाउँदै सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक आह्वान गर्दछौं।”




