आजकाे माैसम: देशभर आंशिकदेखि साधारणतया बदली रहने
आज कोशी प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
जसका कारण शनिबार बिहान गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षासमेत भैरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।



