भिजिट भिषा प्रकरणमा संलग्नता नभएको गृहमन्त्रीको दावी, हाेला त ?
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । यस प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई ७ जेठमा अख्तियारले पक्राउ गरेपछि बसेको १३ जेठको बैठकयता गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलले संसद् अवरोध गर्दै आएका थिए ।
भिजिट भिसामार्फत मानव तस्करी र भ्रष्टाचार गरेको भनी विपक्षीले निरन्तर संसद् अवरोध गर्दै आएकामा जवाफ दिन उनले यसअघि पनि प्रयास गरेका थिए । शुक्रबार भने प्रमुख प्रतिपक्षी दल माओवादी र सत्तापक्षबीच दुईबुँदे सहमति भएसँगै लेखकले आफ्ना धारणा राख्ने अवसर पाएका हुन् ।
रास्वपाको वेल घेराउ र राप्रपाको विरोधका बीच संसद्को रोस्ट्रममा पुगेका लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाए ।
आफूलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका विषयमा कुनै सत्यता नरहेको जिकिर गर्दै उनले खेद प्रकट गरे । मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परे उपस्थित हुन तयार रहेको पनि बताए । उनले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गरे ।
‘अख्तियारले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनी गरिएको प्रचार तथा समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन । उक्त कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन,’ लेखकले भने, ‘मेरा विरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले, राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको छ । जसको म यो सम्मानित सदनबाट खेद प्रकट गर्न चाहन्छु । र, म साथीहरूलाई आग्रह गर्न चाहन्छु– संवैधानिक निकायले छानबिन गरिराखेको विषयलाई कुनै पनि मन्त्रीसँग जोड्ने वा सरकारसँग जोड्ने र जवाफ दिने हो भने हिजो कति मन्त्रीहरूले जवाफ दिनुभएको थियो । त्यसको ताकत साथीहरूसँग छ ?’
भिजिट भिसा प्रकरणमा आफूविरुद्ध नक्कली पीडित खडा गरी पार्टी कार्यालयहरूमै किर्ते जाहेरी दर्ता गर्ने प्रयास भइरहेको पनि लेखकले बताए । किर्ते, जालसाजी र अमर्यादित गतिविधिमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत उनले दिए । दलका पार्टी कार्यालयलाई किर्ते र नक्कली पीडित खडा गर्ने पार्टी कार्यालय बनाउन लागिएको भन्दै सचेत रहन आग्रह गरेका थिए ।
‘केही पार्टीका कार्यालयमा नक्कली तथाकथित पीडितलाई बोलाएर पार्टी कार्यालयमा जाहेरी लेखेर मेराविरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन् । कुन पार्टी कार्यालयमा लेखिएको छ, त्यो मलाई जानकारी भइसकेको छ । यस्ता किर्ते, जालसाजी र अमर्यादित कार्य गरेर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु,’ लेखकले भने, ‘यस्ता अपमानजनक कार्यहरू, किर्ते जालसाज गरेर नक्कली पीडित खडा गर्ने मानिसहरू पत्ता लगाएर कारबाही गरिनेछ ।’
गृहमन्त्री लेखकले आफूविरुद्धका आरोपलाई पुष्टि गर्ने कुनै पनि तथ्य र प्रमाणसहित दोष देखिए कुर्सीमा बस्न अयोग्य ठहरिने कुराको जानकारी आफूलाई रहेको बताए ।
गृहमन्त्रीको साे दावीलाई अस्वभाविक भएको र हाँस्यास्पद रहेकाे भन्दै रास्वपाले विराेध गरेको छ । राप्रपाले पनि गृहमन्त्रीको राजिनामा आउनुपर्ने भनेर विराेध गरिरहेकाे छ । आम जनताले पनि उनलेे छानविनमा सहयाेग गर्न राजिनामा दिन माग गरिरहेका छन् । उनकै सचिवालयका कर्मचारीकाे संलग्नता र विमानस्थलका प्रमुख अधिकारी नै संलग्न भएको प्रमाणका बीच गृहमन्त्री अछुताे हाेलान् त ?





