गृहमन्त्री छानवीनका लागि तयार नभएपछि प्रतिनिधिसभा आइतबारसम्मका लागि स्थगित

मूलखबर संवाददाता
काठमाडौं, २३ जेठ ।

भिजिट भिषामा नाम मुछिएका गृहमन्त्री रमेश लेखकले छानवीनका लागि मार्ग प्रसस्त गर्नुपर्ने प्रतिपक्षी दलहरुको अडानपछि शुक्रबारको प्रतिनिधिसभा बैठक बस्न सकेन । बैठक बस्नु अगाडि प्रतिपक्षी दलहरुको बैठकले माग पुरा नभए बैठक सुचारु गर्न नसकिने निर्णय गरेको थियो । त्यसपछि बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिएका छैनन् ।

बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले निरन्तर विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन् ।
यद्यपि, सहमति भने जुट्न सकेको छैन ।