प्रचण्डले भने– शिक्षकको माग पूरा गर्न नसकिने खालका छैनन्

मूलखबर संवाददाता
बर्दिया, १५ बैसाख

सरकारले शिक्षकका सबै माग पुरा गर्न सकिने खालका नभएको भनेर भनिरहेका बेला प्रमूख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकको माग पूरा गर्न सकिने खालका भएको बताएका छन्।

बर्दियाको राजापुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शिक्षकहरुले विगतका सहमति कार्यान्वयनको माग मात्रै गरेका बताए।

‘हजारौं–लाखौँ शिक्षकहरु आफ्नो जायज माग लिएर आन्दोलित छन्। उनीहरुको धेरै भनाइ छैन। शिक्षकहरुले धेरै, केही नयाँ र पूरा गर्न नसकिने माग गरेका छैनन्। हिजोका सरकारसँग भएको सम्झौता, सहमतिअनुसारको ऐन बनाइदेऊ भन्ने बाहेक उनीहरुको कुनै ठूलो माग छैन,’ उनले भने।

आफू प्रधानमन्त्री हुँदा शिक्षकहरुसँग सहमति गरेर संसदमा विद्यालय शिक्षा विधेयक दर्ता गराएको उल्लेख गर्दै प्रचण्डले विधेयक पास गरे समस्याको समाधान हुने प्रष्ट्याए।

‘म प्रधानमन्त्री हुँदा त्यही सम्झौताअनुसार नै मैले विद्यालय शिक्षा विधेयक भनेर सदनमा दर्ता गराएको छु। त्यही विधेयकमाथि अहिले उपसमितिमा छलफल भइरहेको छ,’ उनले भने। यद्यपि, विधेयक पारित गर्नुको साटो सरकारले शिक्षकहरुलाई अपमानित र उत्तेजित गर्ने काम गरिरहेको प्रचण्डको भनाइ छ।