पहिराेले काभ्रे, खाेटाङ र ललितपुरका सडकखण्ड अवरूद्व

मूलखबर संवाददाता
काठमाडौं, १५ कात्तिक

लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले आज बिहान ६ः०० जारी गरेको सूचनामा जनाइएको छ ।

काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ ।

ललितपुर महानगरपालिका–२ सुन्दरीघाटमा बागमती खोला करिडोरको सडकमा वर्षाका कारण जलसतह बढेर आवागमन अवरुद्ध भएको छ ।.बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।