सरकारकाे गतिविधिले सुशासनकाे दावि गर्ने आधार छैन : थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासनको दाबी गर्न नसकिने बताएका छन् ।
सरकारका निर्णय र गतिविधिमा कानुनी प्रक्रिया मिचिएको भन्दै उनले प्रतिपक्षको भूमिका सशक्त बनाउने चेतावनी दिएका छन् ।
कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै थापाले पछिल्ला सरकारी निर्णय र देशमा भएका घटनाले राज्य सञ्चालनको शैलीमाथि गम्भीर प्रश्न उठाएको बताए । लोकतान्त्रिक मूल्य र मान्यताविपरीतका गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने उनको भनाइ थियो ।
सरकारलाई जवाफदेही बनाउनु र संविधानप्रदत्त अधिकारको रक्षा गर्नु प्रतिपक्षको जिम्मेवारी भएको उल्लेख गर्दै उनले कांग्रेसले सरकारका कामकारबाहीमाथि निरन्तर निगरानी राख्ने बताए ।
सभापति थापाले सञ्चारगृहमा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको घटनालाई सामान्य रूपमा लिन नहुने बताएका छन् । सञ्चारमाध्यममा प्रहरी प्रवेश गराएर पत्रकार नियन्त्रणमा लिने घटनाले शाही शासनकालमा सञ्चारमाध्यममाथि भएको हस्तक्षेपको स्मरण गराएको उनको टिप्पणी थियो ।
उनका अनुसार प्रहरीका तर्फबाट आएका फरक–फरक धारणा र प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक भएका प्रतिक्रियाले घटनाबारे थप अन्योल सिर्जना गरेको छ । पत्रकार पक्राउ गर्ने आदेश कसले दिएको थियो, कुन कानुनी आधारमा पक्राउ गरिएको थियो र त्यसका लागि को जिम्मेवार छ भन्ने विषय स्पष्ट हुनुपर्ने उनले बताए ।
‘हामीलाई वक्तव्य होइन, परिणाम चाहिएको छ,’ थापाले भने, ‘किन भयो, कसले गर्यो, कानुनको कसरी प्रयोग भयो र दोषी को हो भन्ने कुराको जवाफसहित परिणाम चाहिन्छ ।’





