
सडक आन्दोलनलाई थप सशक्त बनाउने शिक्षक महासंघको निर्णय, दमनको भत्र्सना
नेपाल शिक्षक महासंघले आन्दोलनका क्रममा आज प्रहरीले गरेको बर्बर दमनको भत्र्सना गरेको छ । उसले काठमाडौँ केन्द्रित सडक आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै २६ औं दिनको आन्दोलनमा रहेका शिक्षकहरुमाथि आन्दोलनका क्रममा आज दिउँसो प्रहरीले आक्रमण गरेपछि बसेको महासंघको बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले प्रहरीले नियोजित रूपमा लाठी प्रहार गरेको बताए ।
’पानीको फोहोरापछि शिक्षकहरू साइड लागिसकेका थिए। तर, त्यसपछि प्रहरीले सडक पेटीमा उभिएका शिक्षकहरूमाथि अन्धाधुन्ध लाठी हान्यो। प्रहरीको यो कदमको जती विरोध गरेपनि कम हुन्छ, अध्यक्ष अधिकारीले भने ।
आन्दोलनलाई थप सशक्त बनाउनका लागि शिक्षक तथा कर्मचारीलाई काठमाडौं बोलाउने भएको छ। विद्यालय खोल्न निर्देशन दिईरहेका पालिकाहरूलाई विद्यालयको साचो बुझाएर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेको छ ।
विद्यालय खोल्न दबाब दिने पालिकालाई विद्यालयको साचो बुझाएर काठमाडौं आउन प्रधानाध्यापकहरूलाई अनुरोध गरिएको बताए । त्यस्तै शिक्षक महासंघले पेश गरेको ९ बुदाहरू मन्त्रिपरिषदबाट तत्काल पारित गराउन ताकेता गर्ने समेत निर्णय गरेको छ ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन्। आन्दोलनको २६ ओै दिनमा आज प्रहरी र शिक्षकहरूबीच झडप भएको थियो । झपडका क्रममा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाईते भएका छन् ।