
सहिद देशका साझा सम्पत्ति हुन्ः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद परिवार भेटघाट गर्नुभएको छ । बारपाकमा भूकम्प स्मृति दिवस कार्यक्रम मनाउन वारपाक जान लाग्नुभएका प्रचण्डले गोरखा नगरपालिका – १२ का सहिद परिवारसँग भेटघाट गर्दै बलिदानका कारणले आजको राजनीतिक परिवर्तन सम्भव भएको र सहिदहरु देशका साझा सम्पत्तिको रुपमा रहनुभएको बताउनुभयो ।
गोरखा नगरपालिका – १२ दशकिलोमा अत्यधिकमात्रामा बसोवास गर्दै आउनुभएका कुमाल समुदायबाट दस वर्षे जनयुद्धमा नौ जनाले शहादत प्राप्त गरेका थिए । सहिद परिवारलाई भेट गर्नुहुँदै अध्यक्ष प्रचण्डले सहिदहरुले देखाएको बाटोमा निरन्तर रुपमा अघि बढिरहेको धारण व्यक्त गर्नुभयो ।
तत्कालिन माओवादीले सुरु गरेको जनयुद्धमा परी गोरखा नगरपालिका १२ का कुमाल समुदायबाट भिष्म कुमाल, रुद्र कुमाल, सूर्य कुमाल, चक्र कुमाल, कोपिला कुमाल, बीरबहादुर कुमाल, जमुना कुमाल, सिताराम खनाल र कोपिला कुमालले शहादात गर्नु भएको माओवादी केन्द्र जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिनुभयो ।
सहिद परिवारको छलफलमा सहभागी हुँदै प्रचण्डले पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरुको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुहुँदै आफुले तेस्रो पटक प्रधानमन्त्री हुदाँ जनयुद्धसहित अहिलेसम्म सबै आन्दोलनका क्रममा सहिद हुनेहरुलाई राष्ट्रिय सहिद घोषण गरी राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रुपमा स्थापित गरेको बताउनुभयो ।