
सरकार प्राविधिक रुपमा छ, राजनीतिक वैधानिकता गुमाइसकेको छ : माओवादी
प्रमूख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारले सरकार सञ्चालनको राजनीतिक वैधानिकता गुमाइसकेको बताएको छ । उसले सरकार प्राविधिक रुपमा मात्रै अस्तित्वमा रहेको दावी गरेको छ ।
पार्टीको तर्फबाट मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्नीप्रसाद सापकोटाले सरकारले आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको बताउँदे सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नभएको बताएका हुन् ।
उनले पत्रकार सम्मेलनमा जारी गरेको वक्तव्यमा भनिएको छ, वर्तमान सत्तागठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।
वक्तव्यको पूर्ण पाठ
प्रेस विज्ञप्ति
प्रिय पत्रकार मित्रहरू,
समसामयिक विषयवस्तु र वर्तमान परिस्थितिबारे पार्टीको धारणा प्रस्तुत गर्ने उद्देश्यले यो पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
१ वर्तमान सरकार प्राविधिक रुपमा त अस्तित्वमा छ, राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । वर्तमान सत्तागठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।
२ वर्तमान दुईदलीय गठबन्धन सरकारले यस अघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार बिरोधी अभियानलाई उल्ट्याएको मात्र छैन, सुशासन कायम गर्न लागेका अधिकारीहरुलाई छानीछानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको छ । आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने, विपक्षहरुप्रति छानीछानी सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारबाहीको श्रृङ्गला नै खडा गरेको छ । यो सरकारले आजसम्म जे जस्तो निर्णय गरेको छ ती सबै बिचौलियाहरूको स्वार्थमा जनहित र राष्ट्र हित विपरीत छन् ।
३ अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन् । तर प्रधानमन्त्री शिक्षकका माग पूरा गर्न भन्दा उनीहरुलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन् । आउँदो १२ गतेदेखि संसद अधिवेशन हुँदैछ । शिक्षा विधेयक फास्टट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं ।
४ यसैगरी, आन्दोलनरत लघुवित्त पीडितहरु, सहकारी पीडितहरु, कर्मचारीहरु, चिकित्सकहरु लगायत आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी उनीहरूका जायज माग पूरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
५ हाम्रो पार्टीले गत फागुनको १२ गतेदेखि देशको सबैभन्दा होचो भाग झापाको कचनाकवलबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान कपिलवस्तुसम्म आइपुगेको छ । यो अभियान कञ्चनपुर पुगेर समापन हुनेछ । हालसम्मको अभियानमा एक करोडको हाराहारी जनतासँग संवाद भएको छ । यस खालको अभियान इतिहासमा पहिलो भएको अभियानलाई नजिकबाट हेरिरहेकाहरूको निष्कर्ष छ । अभियानका क्रममा शहीद तथा बेपत्ता परिवारसँगको भेटघाट, सर्वपक्षीय अन्तरसंवाद, अन्तरक्रिया, कोणसभा, जनसभा लगायतका जनतासँग जोडिने कार्यक्रमहरू अभूतपूर्व रूपमा सफल भएका छन् ।
६ परामर्श बैठकपछि बसेको पार्टीको केन्द्रीय समिति बैठकको निर्णय अनुसार सञ्चालित अभियानको नेतृत्व पदाधिकारीको टिमसहित अध्यक्ष क। प्रचण्डले गर्नुभएको छ । अभियानका क्रममाः राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतका महत्वपूर्ण विषयहरुमा गहन अध्ययन, अनुसन्धान, अन्वेषण गरिएको छ । किताबी दर्शन र जीवन दर्शनको बेजोड संयोजनले अभियान निकै प्रभावकारी भइरहेको छ ।
७ भारतको जम्मु कश्मिरमा भएको अतिवादी हमलामा नेपाली नागरिक सुदिप न्यौपानेसहित पर्यटकहरूको निधन भएको घटनाप्रति हाम्रो पार्टी घोर भ्रत्सना गर्दछ
मितिस् २०८२ वैशाख १० गते
(अग्नि प्रसाद सापकोटा)
उपाध्यक्ष र प्रवक्ता
ने.क.पा. (माओवादी केन्द्र)