शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

मूलखबर संवाददाता
काठमाडौं

आजदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ ।

शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण आजदेखि देशभर सुरु भएको विद्यार्थी भर्ना अभियान प्रभावित भएको हो ।

यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षक कर्मचारीहरुको मागसहित चैत २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित भएको हो । काठमाडौँ नआएका शिक्षकहरू समेत विद्यार्थी भर्ना अभियान लगायत कुनै पनि गतिविधिमा संलग्न नहुन चेतावनी दिइरहेका छन् । नेपाल शिक्षक महासंघले विद्यालय खोल्ने र विद्यार्थी भर्ना अभियानमा संलग्न हुने शिक्षक तथा विद्यालयमाथि निगरानी राखेको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले माग पूरा नहुँदासम्म कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने बताएका छन् । कतिपय विद्यालयमा शिक्षकहरू भर्ना अभियानमा सक्रिय रहेको जानकारी आएको बताउँदै सुवेदीले उनीहरूमाथि सुक्ष्म निगरानी गर्दै आएको बताएका छन् ।

आन्दोलनका लागि काठमाडौँ नआएका शिक्षकहरूले समेत महासंघको चेतावनीपछि विद्यार्थी भर्ना अभियान बहिष्कार गरेका छन् । कतिपय विद्यालयले सार्वजिनक सूचना नै जारी गरेर विद्यार्थी भर्ना अभियान अनिश्चितकालका लागि स्थगित गरेको जनाएका छन् ।

‘भर्ना अभियानको प्रमुख भनेका शिक्षक हुन् । उनीहरूलाई सडकमा राखेर अभियान सञ्चालन हुने कुरा भएन । केही विद्यालयमा अभिभावकहरू आफैँ अभियानमा लागेका छन् तर, अधिकांशमा रोकिएको छ,’ अध्यक्ष भण्डारीले भने । अध्यक्ष भण्डारीले सरकार र शिक्षक कर्मचारी दुवैका कारण ७० लाख बालबालिकाको पढ्न पाउने अधिकार वञ्चित भएको बताएका छन् ।

शैक्षिक हडतालसहितको शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानका साथै एसईईको उत्तरपुस्तिका परीक्षण समेत रोकिएको छ । वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा समेत प्रभावित हुने भएको छ । महासंघले विद्यार्थी भर्ना अभियानबाट शिक्षक अलग रहने, कक्षा १२ को परीक्षामा शिक्षक तथा कर्मचारी सहभागी नहुने र एसईईको उत्तरपुस्तिका परीक्षण पनि नगर्ने निर्णय गरेको थियो ।

७७ वटै जिल्ला, ७ प्रदेशको आन्दोलन परिचालन समितिको बैठक बसेको थियो । उक्त बैठकले शैक्षिक हडताललाई थप प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको थियो । महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन ल्याउनुपर्ने तीन वटा विकल्प सरकारलाई दिएको छ । सरकारले शिक्षकका माग सम्बोधनका लागि पहल भइरहेको दाबी गर्दै आएको छ । शिक्षा मन्त्रालयले त झन् वैशाख २ गतेभित्र घर फर्किनेगरी सहमतिको प्रयास भइरहेको दाबी गरेको थियो ।

यद्यपि अहिलेसम्म सहमति जुट्न सकेको छैन । शिक्षकहरूले आन्दोलन कठोर बनाउँदै लगेका छन् ।