निजामती सेवा विधेयक पास गर्ने तयारी, माओवादीको ३ बुँदे असहमति

मूलखबर संवाददाता
काठमाडौं

संघीय निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रले तीन बुँदे असहमति राखेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले असहमति जनाउनु भएको हो । पाण्डेले कुलिङ पिरियड अतिरिक्त सचिव र भेटेरेनरीको तहका विषयमा असहमति राख्नु भएको हो । हाल कुलिङ पिरियड एक वर्ष राख्ने गरी विधेयकको प्रतिवेदन तयार भएको छ । यसमा असहमति राख्दै पाण्डेले कुलिङ पिरियड कम्तीमा दुई वर्ष राख्नुपर्ने बताउनु भएको छ ।

यसैगरी सचिव र सहसचिवको संख्या यथावत राखेर अतिरिक्त सचिवको थप पद सिर्जना गर्ने प्रयास भएको भनेर पनि असहमति राखेको बताउनु भयो ।

‘अतिरिक्त सचिव राख्न आवश्यक छैन,’ उहाँले भन्नुभयो । यदि सचिव र सहसचिवको संख्या घटाउँदाको अवस्थामा भने अतिरिक्त सचिवको विषयमा छलफल गर्न सकिने धारणा छ । उहाँले भेटेरेनरीमा ८ औं तह राख्न आवश्यक रहेको बताउनु भएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट आज संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी छ ।