लाेकसेवा आयाेग अध्यक्षकाे संघियताकाे मर्म विपरित धारणा

मूलखबर संवाददाता
काठमाडौं

लाेकसेवा आयाेगका अध्यक्ष माधव रेग्मीले संघियताकाे मर्म विपरित धारणा राखेका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा धारणा राख्दै उनले जिल्लामा सिडिओेलाई सबैभन्दा माथिल्लो मर्यादा क्रममा राख्नुपर्ने बताएका छन् । संविधानमा पालिका प्रमुखहरूलाई सिडिओभन्दा माथि राखिएको छ ।

लिखित सुझाव दिने क्रममा अध्यक्ष रेग्मीले प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको एक नम्बर वरीयतामा राख्नुपर्ने धारणा राखेका हुन् । । संघीय संरचनामा एकात्मक शासनको झल्को आउने गरी सुझाव दिएका उनले प्रमुख जिल्ला अधिकारीभन्दा जनप्रतिनिधिहरूलाई माथिल्लो वरीयता दिएको भन्दै चित्त दुखाए ।

नेपालमा २०७२ सालमा संविधान जारी भएपश्चात् जिल्ला प्रशासन कार्यालयलाई संविधान र कानुनले चिन्दैन ।

‘मर्यादामा प्रजिअभन्दा पालिका प्रमुख माथि छन् । प्रजिअ भनेको नेपाल सरकारको प्रतिनिधि हो । जिल्लामा १ नम्बर मर्यादामा राखिनु पर्छ,’ उनले भने ।

संघीयता भनिए पनि संघनै बलियो र उच्च एकाइ भन्ने एकात्मक शैलीको अभिव्यक्ति उनले बैठकमा दिएका थिए । ‘संघ भनेको संघ नै हो । तीन वटा तहलाई त्यही नजरले हेरिनु पर्छ । सम्पूर्ण अधिकार संघमा छ,’ उनले भने ।

रेग्मीले प्रदेश सचिव र स्थानीय तहको प्रशासकीय अधिकृत संघीय निजामती सेवाका कर्मचारी हुनुपर्ने सुझावसमेत दिए । उनले भने, ‘सात वटै प्रदेश तथा स्थानीय तहमा रहेका महत्त्वपूर्ण पदमा समानस्तरको योग्यता र क्षमता भएको संघीय कर्मचारी रहँदा संघीय सरकारले लिएको लक्ष्य र उद्देश्य बमोजिम राज्यलाई समान मापदण्ड कामय गरी समन्यायिक समानतामा आधारित विकास गर्न सघाउ पुग्छ ।’