अब प्रतिनिधिसभामा आकस्मिक समय २ मिनेटमात्र

मूलखबर संवाददाता
काठमाडौं

सांसदहरूले आकस्मिक घटनाक्रमबारे संसदमा जानकारी गराउने आकस्मिक समयकाे अवधि प्रतिनिधिसभामा घटाइएको छ ।

यसअघि आकस्मिक समयका लागि तीन मिनेट समय छुट्याउने गरिएको थियो । सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट कायम गरिएको हो ।

दुई मिनेटपछि स्वचालित रुपमा सांसदको माइक काटिने प्रावधान पनि सभामुख घिमिरेले लागू गरेका छन् । यसअघि आकस्मिक समयमा तीन मिनट दिने गरिएको र तीन मिनेटमा समेत सभामुखले समय थप गर्न सक्ने गरी विवेकमा छाडिएको थियो ।

सोमबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै केही सांसदले ढ्याप ढ्याप गरेर आकस्मिक समय माग गरे । त्यसपछि सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने सांसदका लागि दुई मिनेट समय निर्धारण गरिएको जानकारी गराएका थिए ।