चिनकाे पुल भत्किएको दुर्घटनामा मर्नेकाे संख्या ३८ पुग्याे, २४ अझै वेपत्ता

मूलखबर संवाददाता
काठमाडौं, १८ साउन

चीनको राजमार्गमा दुई हप्ता अगाडि पुल भत्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ भने २४ जना अझै बेपत्ता छन् ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार अधिकारीहरूले मृतकको सङ्ख्या १२ बाट बढाएर ३८ पुगेकाे जनाएका हुन् । चौबिस जना अझै बेपत्ता छन् । सिसिटिभीको रिपोर्टअनुसार पुल भत्किँदा २५ वटा सवारीसाधन बगेका छन् ।

चीनको पूर्व र दक्षिणमा भारी वर्षा भइरहेको छ भने उत्तरको अधिकांश भाग लगातार गर्मीको लहरमा डुबेको छ ।

मे महिनामा दक्षिणी चीनको एउटा राजमार्ग केही दिनको वर्षापछि भासिँदा ४८ जनाको मृत्यु भएको थियो । यस हप्ताको भारी वर्षाले मध्य चीनमा पनि कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

उक्त पुल जुलाई १९ मा उत्तरी प्रान्त शान्क्सीको शाङ्लुओमा जुलाई १९ मा ‘अचानक आएको मुसलधारे पानी र बाढीका कारण’ आंशिक रूपमा भत्किएको राज्यको समाचार एजेन्सी सिन्ह्वाले त्यसबेला जनाएको थियो ।

यो पुलको तीन लेनको खण्ड नदीमा खस्दा कार र ट्रकहरू बगेको सीसीटीभीले देखाएको छ । -एजेन्सीकाे सहयाेगमा