त्यो भरतपुर, यो भरतपुर

मूलखबर संवाददाता
काठमाडौं

२०७४ अगाडिसम्म भरतपुरमा मान्छेहरुको घनत्व मात्रै बढेको थियो तर पूर्वाधार विकासको कुनै छेकछन्द नै थिएन । रेनु दाहाल जब मेयर बनेर भरतपुरमा आइन्, त्यसपछि चितवनमा पूर्वाधार विकासको जगको रेखा कोरिएको हो । जनताले बाटोघाटोको (सडक) पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका थिए । मेयर निर्वाचित भएर आएपछि रेनुले त्यहीबाट आफ्नो कामको शुरुवात गरिन् ।

४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा उनी मेयर भएर आएपछि ग्रावेलको काम गरिन् । केन्द्रीय बसपार्कको स्तरोन्नतिमा उनले ध्यान खिचिन् । आफ्नै बुवा प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष, चितवनबाटै प्रतिनिधि सभामा प्रतिनिधित्व तथा राष्ट्रिय राजनीतिको केन्द्रीय मियो रहेका बेला उनले केन्द्रीय बजेट र परियोजना पनि भरतपुरमा प्रसस्तै भित्र्याइन् ।

संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ किमि महानगरीय रिङरोड रु। ८ अर्ब २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन नै रेनुले तयार पारिन् । त्यसपछि उनले सघन शहरी विकासबाट १० किमि, प्रदेश सरकारबाट ८.५५ किमि, सडक विभागबाट १२ किमि र महानगरबाट १० किमि गरी जम्मा ४०.५५ किमि रिङरोडको काम अगाडि बढाइन् । बाँकी ४८.०६५ किमि निर्माणको काम अहिले अगाडि बढिरहेको छ ।

पुल्चोकदेखि गोन्द्राङसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि उनले रु। १ अर्ब ९८ करोड ७३ लाखको लागतमा काम अगाडि बढाइन् । साथै उनले बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढाइन् । त्यस्तै, हुलाकी सडकको १९ किमि विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाटको सहायक राजमार्ग खण्डको ८ किमि सडकको काम पनि सँगसँगै अगाडि बढाइन् ।

यसले सडक पूर्वाधारको क्षेत्रमा रेनुले महानगरको रुपरंग नै बदल्ने कोसिस गरिन् । अहिले भरतपुर महानगरका भित्री सडक पनि पिच भएका छन् । यसले चितवनको स्वरुप नै बदलेको छ ।

राष्ट्रिय गौरवका आयोजना ५ वर्ष अगाडिसम्म भरतपुरवासीको कल्पनामै थिएनन् । नारायणी तटबन्ध कसैले कल्पना नै गरेका थिएनन् । वर्षेनी त्यहाँ बजेट छुटिटएर त आउँथ्यो, तर त्यसले केही प्रभावकारी काम नै हुदैनथ्यो । जति बजेट आउँथ्यो, त्यो बालुवामा पानी खन्याएको सरह मात्रै हुन्थ्यो ।

न त्यसरी वर्षेनी आएको बजेटले कुनै दीर्घकालिन काम हुन्थ्यो, न तटबन्ध निर्माणकै तत्कालीन काम नै पनि पूरा हुन्थ्यो ।

तर नारायणी तथा राप्ती नदीको कटान तथा डुबानको दीर्घकालीन समाधानका लागि रेनु मेयर निर्वाचित भएर आएपछि उनले एउटा मोडालिटी तयार पारिन् । अनुमानित बजेटको लेखाजोखा गरिन् । झण्डै ६ अर्बको हाराहारीमा अहिले नारायणी तथा राप्ती नदी नियन्त्रणको काम अगाडि बढिरहेको छ । यसले एउटा व्यवस्थित जग निर्माण भएको छ । त्यस क्षेत्रका जनताले आय आम्दानीको अतिरिक्त स्रोतको खोजी गर्न पनि पाएका छन् । नारायणीमा अहिले ¥याफ्टिङ लगायतका लागि भीड नै लाग्छ मान्छेहरुको ।

पर्यटनको क्षेत्रमा ठूला–ठूला लगानीका होटल भरतपुर क्षेत्रमा अहिले भित्रिरहेका छन् । मेघौली, पटयानी, जगतपुर, गोलाघाट जस्ता ठाउँहरुमा पर्यटन पूर्वाधारको विकास भएको छ । कविलास गढीहरुमा नयाँ–नयाँ होटलहरु खुलेका छन् ।

एकातिर यसले रोजगारीको सिर्जना गरेको छ भने अर्कोतिर ठूलो लगानी चितवनमा भित्रिएको छ । जुन ५ वर्ष अगाडि उभिएर सोच्दा यसको कल्पना सायदै चितवन भरतपुरबासीले गरेका थिए । यो बीचमा भरतपुरमा कृषि विश्वविद्यालय नै बनेको छ । प्राविधिक क्षिक्षा, वैकल्पिक शिक्षा त भनिन्थ्यो, तर त्यसभित्र के गर्ने रु विकल्प थिएन पहिले । तर अहिले विकल्पसहितको कृषि विश्वविद्यालय भरतपुरमा छ ।

शैक्षिक संस्थाहरु सुधारिएका र फेरिएका छन् । ४ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले यस क्षेत्रमा अनुकरणीय अभ्यासको थालनी गरेको छ । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि २०७५ मा ५६.४७ प्रतिशतबाट वृद्धि भई शैक्षिक सत्र २०७७ मा ५.५३ प्रतिशतले वृद्धि भई ६२ प्रतिशत पुगेको छ । यो पछिल्ला वर्षहरुमा पनि लगातार वृद्धि भइरहेको छ ।

कुल साक्षरता दर ९८.५ प्रतिशत पुगेको छ । नमुना विद्यालयहरु स्थापना भएका छन् । शिक्षासँग सिकाइ जोडिएको छ । हाम्रो गौरव हाम्रो भरतपुर’ विषयसँग सम्बद्ध स्थानीय पाठयक्रम महानगरपालिकाले लागू गरेको छ ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमुना विद्यालय विकासको कार्य महानगरले गरेको छ । संस्थागत विद्यालयहरुको साझेदारीमा २३९ जना विद्यार्थीहरुलाई मेरिट वेसमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने काम महानगरले गरेको छ । भरतपुर बालमन्दिरमा अटिजम विशेष विद्यालय स्थापना गरी सबै प्रकारका बालबालिकाहरूलाई शिक्षामा पहुँचको सुनिश्चितता गरेको देखिएको छ। शिक्षामा नवप्रवर्तन भित्र्याउन स्टेम एजुकेशन कार्यक्रमको थालनी महानगरले गरेको छ ।

महानगरपालिकाको आन्तरिक आयको १२.५ प्रतिशत बजेट शिक्षा क्षेत्रको विकासका लागि विनियोजन गरिएको छ।

एमबीबीएस पढ्ने भरतपुरका विधार्थीले लगभग ४० हजार छात्रवृत्तिमा पाउने व्यवस्था महानगरले मिलाएको छ । छात्रालाई स्कुल आवतजावतका लागि साइकलको व्यवस्था महानगरले गरेको छ । मेयरसँग छात्रा कार्यक्रम त्यसमा जोडिएको छ । कतिपय ठाउँमा स्कुल बस थिएनन् । महानगरले नै स्कुल बसको व्यवस्थापन समेत गरेको छ ।

बोर्डिङसरह पढाइ गर्ने भनेर अंग्रेजी माध्यममा नमुना विद्यालय छनौट गरेर पढाइ शुरु भएको छ । पश्चिम चितवनको मेघौलीमा रहेको सरस्वती माविजस्ता विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा घोषणा गरिएको छ ।

५ वर्ष अगाडिको तुलनामा यो बीचमा झण्डै ६ हजार बढी विद्यार्थीहरु सामुदायिक विद्यालयमा बढेका छन् । अहिले करिब ४२ हजार विद्यार्थी भरतपुरमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेका छन् । यसले गुणस्तरीय शिक्षाका लागि महानगरले दीर्घकालीन सोच राखेर कसरी काम गर्न खोजेको छ रु भन्ने रुपरेखा झल्काएको छ ।

पर्यटकीय नगरी सौराहामा सिटी हल बनिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरू गर्न र यसमार्फत् पर्यटकीय आर्थिक गतिविधिमा बढोत्तरी ल्याउन सिटी हल बनाउने कार्य अनुरुप महानगरपालिकाको पहल एवं शहरी विकास मन्त्रालयबाट रु। १ अर्ब ८५ करोडको लागतमा सिटी हल निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ। अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको काम महानगरपालिकाले अगाडि बढाइरहेकै छ ।

यति मात्रै होइन, भरतपुर कृषि क्षेत्रमा पनि अहिले फेरिएको छ । किसानलक्षित गरी प्रतिलिटर ३ रुपैया अनुदान दिने व्यवस्था गरिएको छ । यो खालको अनुदान दिने व्यवस्था सम्भवतः नेपालमै पहिलो हो । महानगरमा दूध, मासु र मत्स्यमा आत्मनिर्भर बनेको छ । विगत ४ वर्षको अवधिमा ३५० वटा साना सिँचाइ र २१ वटा मझौला सिँचाइका काम सम्पन्न भएको छ । ४५५ विघा क्षेत्रफलमा बाह्रै महिना सिँचाइको सुनिश्चितता महानगरले गरेको छ ।

विगत वर्षमा कृषि सहकारीहरुलाई ६ वटा ट्याक्टर, ४ वटा बिउ प्रशोधन मेसिन, १ वटा धान रोप्ने मेसिन र १ वटा कम्वाइन हारवेस्टर वितरण महानगरले गरेको छ । यसबाट कृषिको आधुनिकीकरणमा टेवा पुग्नुका साथै यसले कृषि उत्पादनको लागत घटाउन सकारात्मक भूमिका खेलेको देखिएको छ ।

आपतकालीन भवन महानगरले बनाएको छ । पहिले बाढी आउँदा बस्ने ठाउँ थिएन । तर अहिले विपदको बेला बस्न काम लाग्ने गरी आपतकालीन भवन महानगरपालिकाले रेनु मेयर भएपछि नै बनाएको हो । महानगरपालिकाभित्र साना ठूला गरी रू। ३ अर्ब ७७ करोडको लागतमा २४ वटा आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्। यी आयोजनाहरू सम्पन्न हुँदा भरतपुरमा सतप्रतिशत शुद्ध पिउने पानीको पहुँच स्थापित हुने देखिएको छ ।

भरतपुर अस्पतालमा ५ करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर निर्माण भएको छ । जुन अहिले हस्तान्तरण समेत भइसकेको छ । भरतपुर १४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्सरे सेवासहित १५ शैय्या र शारदानगर स्वास्थ्य चौकीमा १५ शैया क्षमताको कोभिड अस्पताल स्थापना गरी सञ्चालन गरिएकोमा सोको क्षमता विस्तार गरी नगरस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गरिने योजना महानगरले अहिले बनाएको छ । त्यस्तै, शिवनगरमा ५० शैयाको आयूर्वेदिक अस्पताल सञ्चालन हुने चरणमा छ ।

रेनु महानगर मेयर निर्वाचित भएर आएदेखि यो ५ वर्षको अवधिमा ४० वटा स्वास्थ्य संस्था स्थापना महानगरपालिकाले गरेको छ । जसमध्ये ५ वटा भवन निर्माण सम्पन्न भएको र ८ वटा भवन निर्माणाधीन अवस्थामा छ । संघीय सरकारको लगानीमा महानगरको वडा नं। १५ मा एक सय शैयाको शिक्षक अस्पताल निर्माण हुने क्रममा छ । देवघाटमा रु। ९ करोड ९० लाख रुपैयाँको लागतमा अत्याधुनिक शवदाह गृह निर्माणाधीन अवस्थामा छ । महानगरपालिकाले अतिक्रमित ६६ बिघा सार्वजनिक जमिन खोजी गरी संरक्षण गरेको छ ।

वर्षौंसम्म भोगाधिकार पाउन नसकेका भरतपुर महानगरपालिका वडा नं। २ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई रेनुले लालपुर्जासमेत वितरण गरेकी छिन् । महानगर आर्थिक रुपमा पनि अहिले सबल बन्दै जान थालेको छ ।