
रेडियो नेपालका कार्यक्रमले सबैलाई एकताबद्ध गरिरहेको छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा प्रधानमन्त्री दाहालले रेडियो नेपालले आफूलाई बदलिँदो राजनीतिक परिस्थिति एवम् सामाजिक रूपान्तरणको अभियानमा जनआकांक्षा अनुरूप उभ्याई सकारात्मक सञ्चार सम्प्रेषण गर्न सफल भइरहेको बताउनुभएको छ ।
परिवर्तित सन्दर्भका नीतिगत, कानुनी र व्यवस्थापकीय उपलब्धिहरू केन्द्रीय र प्रादेशिक प्रसारणको माध्यमबाट जनताको घरघरमा पुऱ्याउन रेडियो नेपालले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले देशको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता र संविधानको मर्म एवम् भावनाअनुरूप रेडियो नेपालले सञ्चालन गरिरहेको कार्यक्रमबाट सिङ्गो देशलाई एकताबद्ध गर्न योगदान पुगिरहेको उल्लेख गर्नुभएको छ ।
सन्देशमा प्रधानमन्त्री दाहालले रेडियो नेपालको संस्थागत, प्रविधिगत, संरचनागत र व्यवस्थापकीय सुधार गरी अन्य प्रसारण संस्थासँग प्रतिस्पर्धी संस्थाका रूपमा स्थापित गर्न सबैले आ–आफ्नो ठाउँबाट पहलकदमी लिन आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
