संसदमा विषयान्तर बहसः सार्कलाई किन वेवास्ता, बिमस्टेकको प्रवर्द्धन किन !
संसदमा सार्क र अन्तर्राष्ट्रिय क्षेत्रीय संगठनहरू सार्क र बिमस्टेकको सान्दर्भिकता र त्यससँग जोडिएको भूराजनीतिबारे गरागरम बसह भएको छ ।
नेपाल दुबै संगठनको सदस्य छ तर सार्क ओझेलमा पर्दै गएको बारे संसदमा गरमागरम बहस भयो। विषय बिमस्टेकको भए पनि सांसदहरूले विषयान्तर गरेर सार्कमाथि बहस गरेका हुन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बे अफ बंगाल इनिसिएटिभ फर मल्टी–सेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन) बिमस्टेकका सदस्य राष्ट्रहरूमा नेपाल, भारत, म्यानमार, श्रीलङ्का, थाइल्यान्ड, भुटान र बंगलादेश छन् ।
त्यस्तै, सार्क दक्षिण एसियाली सहयोग संगठन हो । यसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तान सदस्य छन् । सार्कमा भारत र पाकिस्तानको द्वन्द्व देखिँदै आएको छ । सार्कको १८औँ शिखर सम्मेलन अन्तिमपटक काठमाडौंमा भएको थियो । १९औँ सम्मेलन २०१६ नेभेम्बर ९ र १० मा इस्लामावादमा हुने भनेर तोकिए पनि हुन सकेन।
अहिले सार्कको अध्यक्ष नेपाल रहेको छ । सार्कमा भारत हाबी हुँदै आएकाे छ । अहिले नेपाल सार्ककाे अध्यक्ष रहेकाे समयमा सार्क निष्क्रिय प्राय: छ । र यस्ताे हुनुमा भारत र पाकिस्तानबीचकाे सम्बन्ध नै प्रमुख कारक हाे । अहिले सार्क झन निष्क्रिय बनेकाे बुझाइ नेपालका सांसदहरूको देखियो । सोमबार प्रतिनिधिसभामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेक बडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावको छलफलमा भाग लिँदै सांसदहरूले बिमस्टेक देखाएर सार्कलाई छायामा पार्ने काम भएको टिप्पणी गरे । अध्यक्ष राष्ट्र नेपालले प्रस्तुति देखाउन नसकेको भन्दै सरकारको आलोचना पनि गरे ।
सार्क सम्मेलन आयोजना गर्न अध्यक्ष राष्ट्र भए पनि पहल नगर्ने र अर्को क्षेत्रीय संगठनको बडापत्रको विषयमा सदनमा छलफल चलाउने सरकारकाे नीतिले सार्कको ‘विकल्प’ को रूपमा बिमस्टेकलाई महत्त्व दिएको सांसदहरूकाे भनाइ छ ।
एमालेका सांसद योगेश भट्टराईले कताकता बिमस्टेक सार्कको विकल्पको रूपमा अघि ल्याइएको हो कि भन्ने भान रहेको बताए । एकअर्कालाई निषेध गर्ने ढंगले आएको र यसबाट जोगिनुपर्ने उनले बताए । ‘जति पनि अन्तर्राष्ट्रिय लबिङहरू यो मञ्चमार्फत हामीले गर्नुपर्ने थियो, त्यसमा हामीले जति सफलता पाउनुपर्थ्यो, त्यो पाउन सकिरहेका छैनौँ । बिमस्टेकको मञ्चबाट नेपालले अझै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रस्तुति दिनुपर्नेछ । कताकता बिमस्टेक सार्कको विकल्पको रूपमा अघि ल्याइएको हो कि भन्ने भान छ,’ सांसद भट्टराईले भने, ‘छिटोभन्दा छिटो सार्क सम्मेलन आयोजना गर्न आग्रह गर्दछु । एकअर्कालाई निषेध गर्ने ढंगले आएको छ, यसबाट हामी जोगिनुपर्छ ।’
छलफलका क्रममा बोल्ने अधिकांश सांसदहरुले मूल विषयलाई बिर्सेर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का विषयमा आफ्ना धारणा र आक्रोस व्यक्त गरे । छलफलमा बोल्ने धेरैजसो सांसदको आरोप सार्कलाई ओझेलमा पार्न भारतले बिमस्टेक जन्मायो भन्ने थियो ।
यस्तो आरोप लगाउनेहरु सबै कम्युनिस्ट विचार अगाल्ने पार्टीका सांसदहरु थिए ।
“विमस्टेक जन्मियो किन ? सार्कलाई ओझेलमा किन पारियो ? परराष्ट्र मन्त्रीले केही जानकारी गराउनु हुन्छ कि भनेर आशा गरेको, खाली बिमस्टेकको कुरा गरेर सिध्याइदिनु भयो । म निराश भएँ । दक्षिण एसियामा शक्तिशाली संगठन सार्क हो नि,” राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले भने ।
सार्कमा पाकिस्तान सदस्य र चीन पर्यवेक्षक रहेका कारण भारतले सार्कलाई निस्क्रिय बनाई विमस्टेकलाई अगाडि बढाएको आशय उनले व्यक्त गरेका थिए ।
“सार्कमा भारत छ, चीन छ, पाकिस्तानजस्तो देश छन् । सार्कको अध्यक्ष हामी (नेपाल) छौं । यो विमस्टेक किन खोल्नुपर्यो भने भारत चीनको अगाडि भाले हुन नसक्ने भयो । पाकिस्तानसँग शत्रुतापूर्ण संघर्ष छ सधैँ । त्यसै भएको हुनाले सार्क आन्दोलनलाई ओझेलमा पार्न यो भारतको योजना हो,” राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले भने ।
कतिपय सार्क बैठक आफूले देखेको जनाउँदै उनले पटक पटक सार्कलाई ओझेलमा पार्न विमस्टेक भारतले बनाएको दावी गरे । “सार्कलाई एकप्रकारले विसर्जनजस्तो गराउनुको मुख्य कारण भारत हो,” केसीको भनाई थियो, “यो (विमस्टेक) बन्यो भन्नेमा खासै विरोध होइन, तर सार्कको बैठक नै नबोलाउने । सार्क आन्दोलनलाई ओझेलमा पार्न, छायामा पार्न विमस्टेकको खेती हो । सार्कलाई ओझलेमा पारेर, विमस्टेकको कुरा गरेर जनतालाई अलमल्याउनु गलत हुन्छ ।”
एमालेका सांसद रघुजी पन्तले बिमस्टेकसँगै सार्कलाई पनि अघि बढाउन जरुरी रहेको बताए । उनले बिमस्टेकमा बंगलादेश, भारत, भुटान, थाइल्यान्ड, म्यानमार, श्रीलंका र नेपाल सदस्य रहेको उल्लेख गर्दै सार्कमा सदस्य रहेको पाकिस्तानलाई मात्र एक्लै बनाएर सार्कलाई निस्तेज पार्ने र बिमस्टेक अघि बढाउने चाहना भारतको रहेको बताए ।नेपालले सार्कलाई अघि बढाउन प्रभावकारी भूमिका खेल्नुपर्ने उनकाे भनाइ छ । नेपालले बिमस्टेकबाट लिएका फाइदाहरू संसदमा प्रस्तुत गर्न उनले आग्रह गरे ।
सार्कमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी ८ राष्ट्र सदस्य छन् । विश्वको कूल भुभागको ३ प्रतिशत सार्कले ओगट्छ भने विश्वको कुल जनसंख्याको २१ प्रतिशत सार्क क्षेत्रमा रहेका छन् ।
सन् २०२१ सम्म विश्व अर्थतन्त्रको ५.२१ प्रतिशत (४० खर्ब ४७ अर्ब अमेरिकी डलर) हिस्सा सार्कले ओगटेको थियो । सार्कको जनसंख्या १.९३ अर्ब रहेको छ ।
सार्कको सबैभन्दा पछिल्लो १८औं शिखर सम्मेलन नेपालले सन् २०१४ मा आयोजना गरेको थियो । अंग्रेजी वर्णानुक्रमअनुसार सार्क शिखर सम्लेलन आलोपालो र कम्तिमा पनि दुई–दुई वर्षमा गर्ने अभ्यास रहँदै आएको छ ।