
रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, पार्थिव शरीर पाटन अस्पताललाई
वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। नेपालको पहिलो जनगणनामा समेत सहभागी भएका उनको आइतबार बेलुकी उपचारका क्रममा निधन भएको हो। वरिष्ठ पत्रकार रिसालको पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा आइतबार साँझ ८ बजे निधन भएको हो।
मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको ताथलीमा भएको थियो ।
पत्रकार रिसालले मृत्युपश्चात आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने निर्णय गरेका थिए। सोही अनुसार रिसालको शव पाटन अस्पताललाई दिइएको उनका भाइ पुरु रिसालले अन्नपूर्ण पोस्टलाई बताए। भाइ पुरु रिसालका अनुसार भैरव रिसालको कुनै पनि अन्त्येष्टिका कार्यक्रम हुँदैन।
पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको जिम्मेवारी निर्वाह गरेका थिए । उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृंखला सञ्चालन गरेका थिए । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्यांक विभागमा रहेर काम गरेका थिए ।
वामपन्थी विचारधाराका रिसाल २०४८ को आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए । पत्रकार रिसालले जगदम्बा श्री, मानवअधिकारसम्बन्धी र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।
रिसालकै आग्रहमा भूगोलविद् हर्क गुरुङ विभिन्न जिल्ला पुगेका थिए । स्थानीयहरूलाई आधुनिक र उन्नत कृषि प्रणालीतर्फ अग्रसर गराउन पनि रिसाल सक्रिय थिए ।
