ट्रम्प ह्वाइटहाउस फर्किने सम्भावना बढ्यो, बाइडेनसँगको भिडन्त पक्का

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकमा लगातार दोस्रो पटक राष्ट्रपति पदका लागि एकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

डेमोक्रेट्रिक पार्टीबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकनबाट डोनाल्ड ट्रम्प नै उम्मेदवार हुने भएको हो। बाइडेनको उम्मेदवारी पहिला नै निश्चित जस्तै भए पनि ट्रम्पलाई भने पार्टीमा चुनौती थिए। उक्त चुनौतीलाई पछि पार्दै ट्रम्प नै रिपब्लिकन पार्टीबाट उम्मेदवारको रूपमा अगाडि आएका छन्।

अन्तिमसम्म प्रतिस्पर्धामा रहेकी निक्की हेली चुनावी मोर्चाबाट हटेपछि ट्रम्पलाई सहज भएको हो। सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पनि डोनाल्ड ट्रम्प र बाइडेनबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो। अमेरिकामा डेमोक्रेट्रिक र रिपब्लिकन पार्टीले राष्ट्रपति पदका लागि प्राथमिक चुनाव जित्नेलाई मात्रै उम्मेदवार बनाउँछन् ।

बाइडेनलाई डेमोक्रेट क्याम्पबाट मनोनयन दौड जित्न एक हजार ९६८ प्रतिनिधि चाहिन्छ। जर्जिया बाहेक मिसिसिपी, वाशिंगटन र उत्तरी मारियाना टापुहरूमा पनि बाइडेनको राम्रो समर्थन छ। समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पलाई धेरै प्रमुख राज्यमा राम्रो समर्थन मिलिरहेको छ। उम्मेदवारी स्वीकृत भएपछि बाइडेनले भने ट्रम्पको अभियानलाई ‘आक्रोश र बदलाको अभियान’को संज्ञा दिएका छन्।

अब ७० वर्षयता पहिलोपटक अमेरिकी निर्वाचनमा अघिल्लो निर्वाचनकै झल्को दिने गरी उही दुईजना प्रतिस्पर्धी हुने पक्का भएको छ।

सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट लडेका बाइडनले रिपब्लिकन पार्टीबाट उठेका तत्कालीन राष्ट्रपति ट्रम्पलाई पराजित गरेका थिए।

पार्टिको उम्मेदवारी जित्नका लागि भएका प्राइमरी चुनावहरूमा बाइडनका विरुद्ध खासै प्रतिस्पर्धी नै थिएनन्।

उम्मेदवारी जितेपछि उनले पार्टीले आफूमाथि पुन: विश्वास गरेकोप्रति सम्मानित अनुभव गरेको प्रतिक्रिया दिएका छन्।

तर उनको उम्मेदवारीको औपचारिक घोषणा भने अगस्टमा हुने डेमोक्र्याटिक न्याश्नल कन्भेनशनपश्चात् मात्र गरिनेछ। रिपब्लिकन पार्टीले पनि उसको राष्ट्रिय सम्मेलनबाट उम्मेदवारको घोषणा गर्नेछ।

ट्रम्पले रिपब्लिकन प्राइमरी चुनावहरूमा वर्चस्व कायम गर्दै आएका छन्। अहिलेसम्म भएका प्राइमरी चुनावमध्ये एउटा बाहेक सबै ठाउँमा उनले जितेका थिए।

उनका प्रमुख प्रतिस्पर्धी राष्ट्रसङ्घकी पूर्वराजदूत निकी ह्याली गत साता चुनावी मैदानबाट पछाडि हटेकी थिइन्।

चार वर्षअघि भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएका थिए। त्यसपछि पहिलो पटक क्यापिटल हिलमा अशान्ति भएको थियो। अहिले पनि क्यापिटल हिल प्रकरणका आरोपीलाई सजाय तोकिएको छ। ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएमा क्यापिटल हिल प्रकरणमा दोषी ठहरिएकालाई सजाय माफ गर्ने बताइसकेका छन्।