प्रचण्डलाई विश्वासको मत आजः खुलेर मत दिन ओलीको आह्वान, यस्तो छ अंकगणित

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संघीय संसदको प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। पहिलो पटक उनले २७० सांसदमध्ये २६८ जनाको समर्थन पाएका थिए। प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा इतिहासमै सबैभन्दा बढी मत र सबै दलको समर्थन प्राप्त भएको थियो ।

प्रधानमन्त्रीमा विश्वास छ भन्नका लागि १ सय ३८ मत आवश्यक पर्छ। ६ दल एकैठाउँमा रहेकाले प्रचण्डले विश्वासको मत पाउने प्रष्ट छ।

ओलीको आह्वानः खुलेर मत दिनुस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई दिल खोलेर विश्वासको मत दिन आफ्ना सांसदहरूलाई आग्रह गरेका छन्। मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले बिना हिचकिचाहट मत दिन सांसदहरूलाई आग्रह गरेका हुन्।

‘हामी एकदम खुलेर, दिल खोलेर भोलि बिना हिचकिचाहट, मनको कुनामा कतै नराखेर, सकारात्मक कदम हो, त्यसकारण विश्वासको मत दिन्छौं। विश्वासको मतमा हामी सम्पूर्ण प्रतिनिधि सभाका सदस्यहरू उपस्थिति हुनेछौं। सम्पूर्णले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि यस प्रतिनिधि सभाको विश्वास छ भन्ने पक्षमा मतदान गर्नेछौं। यो पार्टीको तर्फबाट कमरेडहरूलाई निर्देश र आदेश पनि हो’, उनले भने।

ओलीले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउँदा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएकाले पनि प्रचण्डलाई नै विश्वासको मत दिनुपर्ने बताएका थिए। उनले प्रचण्डले विश्वासको मत नपाउँदा देश ठूलो असफलतामा जाने बताए।

‘यो बेस्ट अप्सन हो कि होइन भन्ने कुरा छाडिदिऔं। यतिबेलाको अर्को कुनै अप्सन छैन। दुइटा मात्रै अप्सन हो। कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ। यसले जित्छ र यो चल्छ। कि त ७६ (३) अनुसार नेपाली कांग्रेसको अल्पमतको सरकार बन्छ भोलि। दुइटामध्ये एउटा कुरा हुन्छ भोलि। अल्पमतको सरकार बन्ने जस्तो देशलाई दुर्घटनामा लैजाने काम हुन दिनुहुँदैन’, उनले भने।

उनले पहिलेपहिलेका कुरामा प्रधानमन्त्रीले गल्ती पनि गरेको हुन सक्ने भए पनि अहिले भने एकदम राम्रो काम गरेको बताए। ‘एकदम अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन उहाँले पहलकदमी लिनुभयो। कमसेकम एक डेढ वर्षलाई उहाँको पद कुनै खतरामा थिएन। चलेकै थियो। तर एक डेढ वर्ष पदमा बसिरहनु, चल्नु मात्रै होइन’, ओलीले भने, ‘देश अप्ठ्यारोमा पर्‍यो भन्ने रियलाइजेसन गरेर उहाँले फरक ढंगले कदम चाल्नुभएको छ।’

अंकगणित प्रचण्डको पक्षमा
मंगलबार नै सत्तारुढ रास्वपा, एमाले, एकीकृत समाजवादीले सांसदहरुलाई प्रचण्डलाई विश्वासको मत दिन ह्वीप लगाइसकेका छन्। एमाले ७८, माओवादी ३२, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीका १० सांसदले प्रचण्डलाई मत दिने निश्चित छ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। संसदीय दलका नेता रञ्जिता श्रेष्ठले मंगलबार चारैजना सांसदलाई अनिवार्य उपस्थित भएर विश्वाको मतको पक्षमा उभिन ह्वीप लगाएकी छन्। तर निर्वाचन आयोगले रञ्जितालाई नै नागरिक उन्मुक्तिको अध्यक्षको मान्यता दिएकाले संसदीय दलको नेताका रुपमा उनको ह्विप आधिकारिक हुन्छ। यस्तोमा उनको ह्विपअनुसार सांसदहरू कता उभिन्छन् भन्ने प्रष्ट भएको छैन।

यी ६ दलको कूल मत १५७ हुन्छ। प्रतिनिधि सभामा सभामुख र उपभामुखसहित २७४ सांसद छन्। त्यमिध्ये दुईजना निलम्बित छन्।