राष्ट्रियसभा अध्यक्षको चुनावः अंकगणित नारायण दाहालको पक्षमा

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज मंगलबार चुनाव हुँदैछ। नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका सांसद युवराज शर्मा उम्मेदवार छन्।

दाहाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन्। उनको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन्। समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन्।

राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो पार्टी छ। एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन्।

यस्तै कांग्रेस सांसद शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिएको छ। उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन्।

उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन्। राष्ट्रिय सभामा कांग्रेसका १६ र लोसपाका १ जना सांसद छन्।

यस्तो छ अंकगणित
गठबन्धनमा रहेका दलहरूमध्ये माओवादीसँग १६, एमालेसँग १०, एकीकृत समाजवादीसँग ८ र जसपासँग ३ सदस्य छन् । यसअनुसार नारायणको पक्षमा स्पष्ट ३७ सांसद देखिन्छ । ५८ सदस्यीय राष्ट्रियसभा (सरकारको सिफारिसमा राष्ट्रपतिबाट एकजना मनोनीत हुन बाँकी) मा अध्यक्ष चुनिन कम्तिमा ३० जना सांसदले समर्थन गर्नुपर्छ । यसरी हेर्दा नारायणको पक्षमा स्पष्ट बहुमत देखिन्छ ।

यता कांग्रेसका तर्फबाट उम्मेदवार बनेका युवराजको पक्षमा भने अहिलेसम्म उनकै दलको मात्रै मत देखिन्छ । राष्ट्रिय सभामा कांग्रेससँग १६ सांसद छन् ।

यसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका १/१ सांसद छन् । उनीहरूले के गर्छन्, निर्णय गरिसकेका छैनन् । तर, उनीहरू त्यति निर्णायक हुने अवस्था देखिँदैन ।

यसबाहेक अर्को मनोनीत सिटमा वामदेव गौतम छन् । माओवादी केन्द्र र एमाले मिलेर बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेपछि एमालेबाट पनि राजीनामा दिएका गौतम पछिल्लो गठबन्धनसँग आशावादी छन् ।

नेकपा फुटेसँगै वाम एकताको पृष्ठपोषण गर्दै आएका उनले वामपन्थी दलहरू एकठाउँ हुनुपर्ने बताउँदै आएका छन् । त्यसकारण नेकपा एकता अभियानका संयोजकसमेत रहेका उनले नारायणलाई नै मतदान गर्ने सम्भावना छ ।