गठबन्धन परिवर्तनबारे संसदीय दलमा प्रचण्डको ब्रिफिङ, एमालेसँग सहकार्य रणनीतिक
प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितिका बारेमा संसदीय दललाई जानकारी गराएका छन्।
संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पार्नुभएको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।
बैठकमा प्रतिनिधि सभाको पछिल्लो अवस्थाबारे प्रतिनिधि सभाका मुख्य सचेतक पाण्डे र राष्ट्रिय सभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराएका थिए।
त्यसैगरी राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा विश्वासको मतको विषयमा सहभागी सदस्यले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उम्मेदवारको विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने र विश्वासको मत कहिले लिने भन्ने विषयमा सहयात्री दलसँग छलफल गरेर निर्णय लिइने जानकारी गराएका थिए।
एमालेसँग सहकार्य रणनीतिक
प्रचण्डले कांग्रेससँगको गठबन्धन कम्फर्टेबल नभएपछि समीकरण बदलेको ब्रिफिङ गरेका थिए। प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसदले मूलखबरलाई भने- केन्द्रीकरण, ध्रुवीकरण र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै विकासको नेतृत्व गर्न कांग्रेससँग कम्फर्टेबल भएन। उहाँहरू पछाडि फर्केजस्तो देखियो। बजेट निर्माण, मन्त्रालय सञ्चालनदेखि अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अलिक बढी दास मनस्थिति बढी भएकोजस्तो देखियो। त्यसले गर्दा राष्ट्रियतामा अझै बढी कमजोर हुने देखियो।
प्रधानमन्त्री पद असुरक्षित नभएपछि सोचेजस्तो परिणाम दिन नसकेपछि लामो गृहकार्यपछि एमालेसँग समीकरण बनाएको बताए।
प्रचण्डले भनेका छन्- प्रधानमन्त्री पद त असुरक्षित थिएन। कसैले च्यालेन्ज गरेको पनि होइन। एक वर्ष त रहिहाल्थ्यो। प्रधानमन्त्री पद त रहिराख्ने तर सोचेजस्तो परिणाम दिन नसक्ने, अझै राष्ट्रियता र अर्थतन्त्र कमजोर हुने देखिएपछि एमालेसहित अन्य दलसँग सहकार्यको ढोका खोल्यौँ। दुवै दलबीच लामो गृहकार्यपछि सहकार्य थालेका छौँ। यो समीकरण बलियो छ। पर्याप्त छलफलपछि मात्रै गरेको हौँ। आवेगात्मक हुँदै होइन। आवेगात्मक त सरकार संकट परेको बेलामा मात्रै हुने हो तर, अहिले सरकार अप्ठ्यारोमा थिएन।
राष्ट्र र जनताको केन्द्रमा राखेर अहिले जनतामा देखिएको निराशा अन्त्य र अर्थतन्त्र सुधार, सेवा प्रवाहमा अहिले समीकरण थालेका दलसँग लय मिल्ने प्रधानमन्त्रीको विश्वास थियो।
प्रचण्डको भन्दै उदृत गर्दै माओवादी केन्द्रका अर्का सांसदले मूलखबरलाई भने, ‘राष्ट्रिय राजनीतिलाई मध्यनजर गर्दै हामीले एमालेसँग पुनः गठबन्धन गर्ने निर्णय लिएका हौँ ।’
ती सांसदका अनुसार प्रचण्डले माओवादी केन्द्रलाई घेराबन्दीमा पारेर सिध्याउने षड्यन्त्र भएपछि नयाँ बाटो लिन बाध्य भएको बैठकमा बताएका थिए ।