
नयाँ गठबन्धनमा नेकपा (एस) सकारात्मक, आज ठाेस निर्णय गर्दै
नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको छ ।
मंगलवार राति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकका क्रममा सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको बताइएको हो ।
बैठकमा उपस्थित नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूहरुले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र नेपाल सकारात्मक रहेको बताउनु भयो । यद्यपि उहाँले नेकपा (एकीकृत समाजवादी) को बुधवारको बैठकबाट टुंगो गर्ने बताइएको पनि स्पष्ट पार्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो, ‘‘हामीले उहाँलाई अनुरोध गरेका छौँ । भोलि बैठक बसेर जवाफ दिने भन्नुभएको छ । सकारात्मक छ, यो प्रक्रियामा सहमत सबै पक्षलाई भनेका छाैँ ।’’
बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले आफू नेपाललाई स्वास्थ्यलाभको कामना गर्न आएको बताउनु भयो ।
आज सचिवालय बैठक
नेकपा एकीकृत समाजवादीले गठबन्धनमा कुन रूपमा सहभागी हुने र सरकारमा के भुमिका लिने भन्नेबारेमा निर्णय गर्न ११ बजे बैठक राखेकाे छ । आज बस्ने बैठकले सरकारमा सहभागीता र सहभागी हुने मन्त्रीकाे नाम समेत टुंगो लगाउने बताइएको छ ।
