सत्ता गठबन्धनको बैठकः महत्त्वपूर्ण निर्णय गर्ने तयारीमा प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

सत्ता गठबन्धन बैठक आज बिहानै बस्ने भएको छ । सत्ता गठबन्धनमा खटपट चलिरहेका बेला बिहान ८ बजे बैठक बाेलाइएकाे छ । गठबन्धनमा चलिरहेकाे खटपटका बीच बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचनका साथै टीआरसी विधेयक र मन्त्रिपरिषद् पुनर्गठनका विषयमा समेत छलफल हुने बताइएको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुनसक्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डकै चाहनामा गृह र अर्थ कांग्रेस–माओवादीबीच साटफेर हुने चर्चा पनि छ । प्रमुख विपक्षी एमाले लगायतका दलहरूले भ्रष्टाचारसहित विभिन्न काण्डमा जाेडिएका मन्त्रीहरूकाे राजीनामा मागिरहेकाे छ । एमालेसहितका दलहरूकाे मागबारे आजै सदनमा प्रधानमन्त्रीले जवाफ दिने तालिका छ ।

उनले दुई युवककाे ज्यान जानेगरी ललितपुरकाे बालकुमारीमा भएकाे घटनामा मुछिएका भाैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पनि फिर्ता बाेलाउन एकीकृत समाजवादीलाई आग्रह गरेका स्राेतकाे भनाइ छ । एसले फिर्ता नबाेलाए ज्वालालाई बिनाविभागीय बनाउने तयारी चलिरहेकाे बालुवाटार स्राेत बताउँछ ।

आइतबार साँझ नै प्रचण्डले भ्रमण रोक्न निर्देशन दिएपछि कांग्रेसबाट सरकारमा गएका परराष्ट्रमन्त्री एनपी साउदले फिनल्याण्ड भ्रमण स्थगित गरेका छन् । पूर्व निर्धारित तालिकाअनुसार उनी हिजो साँझ त्यसतर्फ उड्नुपर्ने थियो ।