कांग्रेस रक्षात्मक अवस्थामा, सबै परिस्थितिका लागि तयार रहन देउवाको निर्देशन
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउनसक्ने वा गठबन्धनबाटै बाहिरिनसक्ने परिस्थिति रहेको ब्रिफिङ गरेका छन्।
आफ्नै निवास बुढानिलकण्ठमा आइतबार कांग्रेसका मन्त्रीहरुलाई बोलाएर देउवाले पछिल्लो घटनाक्रमबारे जानकारी गराउँदै गठबन्धनबाट बाहिरिनसक्ने परिस्थिति आउने जानकारी गराएका थिए।
आइतबार दिउँसो साढे ३ घन्टासम्म चलेको बैठकमा कांग्रेसका आठजना मन्त्री र नेताहरू कृष्ण सिटौला तथा रमेश लेखक सहभागी थिए।
प्रचण्डले आफूसँग राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउनुपर्छ भनेर अडान लिएको र कांग्रेसले राष्ट्रियसभा अध्यक्ष नपाए गठबन्धनमा असर पर्नसक्ने देउवाको निष्कर्ष रहेको बैठकमा सहभागी एक मन्त्रीले बताए। गठबन्धनको बैठकअघि कांग्रेसले छुट्टै बैठक गर्ने र टुंगो लगाउनसक्ने बुझिएको छ।
राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीलाई लिएर सत्ता गठबन्धनमा दरार उत्पन्न भएको छ । महासमिति बैठकबाट माओवादीसँग चुनावी तालमेल नगर्ने तथा माओवादी जनयुद्धलाई अपमान गर्ने खालको दस्ताबेज पारित गरेको भन्दै प्रचण्ड कांग्रेससँग असन्तुष्ट बनेका थिए ।
बिहीबार चितवनमा पुगेर प्रचण्डले शान्ति प्रक्रियामा खेलेको भूमिकाका कारण कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने बाचा विगतमा गरेको भए पनि परिस्थिति फेरिएको बताएका थिए । सोमवार बिहान बस्ने सत्ता गठबन्धनको बैठकमा प्रचण्डले केही महत्त्वपूर्ण निर्णय लिने तयारी गरेका छन् ।
“माथिको कुरा चिन्ता नगर्नू, तल धेरै काम गर्नू, पफरर्मेन्स राम्रो देखाउनू तर परिस्थिति जे पनि हुन सक्ने देखिएको छ,” देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
एमालेले प्रचण्डलाई पाँचैवर्ष सरकार चलाउन र त्यो बीचमा पार्टी एकताको पनि प्रस्ताव गरेको चर्चा पनि कांग्रेसभित्र चलेको थियो।