बालेन्द्र शाहको प्रतिकारः नगरप्रहरीमाथि आक्रमण गर्ने एमालेका कार्यकर्ता

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका कार्यकर्ताले नगर प्रहरीमाथि आक्रमण गरेको खुलासा गरेका छन् ।

गत बुधबार नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेको उनको भनाई छ। एमालेका कार्यकर्ताले आक्रमण गरेपछि नगर प्रहरीले आफ्नो आत्मरक्षा मात्रै गरेको उनले दाबी गरेका हुन् ।

‘भिडियोमा देखिएकी महिला सडक बिक्रेता नभई एमाले पार्टी कार्यकर्ता हुन्,’ उनले समाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन् । उनले सामाजिक सञ्जालमा देखिएको भिडियो आधा मात्र भएको र यसअघिको भाग सरकारले मेटाएको आरोपसमेत लगाए ।

गत बुधबार साँझ भएको सो घटनामा नगर प्रहरीले अमानवीय तवरमा बल प्रयोग गरेको भन्दै धेरैतिरबाट आलोचना भइरहेको छ।

सामान्य अवस्थामा नगर प्रहरीले लाठीचार्ज, पक्राउलगायत प्रहरीको अधिकार प्रयोग नगर्ने मेयर बालेनले उल्लेख गरेका छन् । आत्मरक्षाका क्रममा नगर प्रहरीले लाठीचार्ज गरेको उनको भनाइ छ ।

नगर प्रहरीमाथि आक्रमण गरिएको भिडियो मेटाइएको र बल प्रयोगको मात्र छ्यापछ्याप्ती बनाइएको उनको जिकिर छ । त्यसरी सार्वजनिक भिडियोमा देखिएका कतिपय महिला फुटपाथ व्यापारी नभई एमाले कार्यकर्ता भएको उनले बताएका छन् ।

फुटपाथमा व्यवसाय गरी बस्ने स्वरोजगार मजदुरमाथि नगर प्रहरीले गरेको बल प्रयोगको बारेमा टिकाटिप्पणी भइरहेका बेला बालेनले प्रतिकार गरेका हुन् ।