अन्तर्राष्ट्रिय अत्याचारको पराकाष्ठाः इजरायलमा ३० हजार मारिए, ९ हजार महिला मात्र

मूलखबर संवाददाता
काठमाडौं

इजरायलको आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या बिहीबारसम्म ३० हजार नाघेको छ । सन् २०२३ अक्टोबर ७ मा इजरायलविरुद्ध प्यालेस्टाइनी इस्लामिक लडाकु समूह हमासले गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाद्वारा चलाएको हवाई तथा जमिनको कारवाही जारी छ ।

हमासलाई नष्ट गर्ने र बन्दी बनाएका सय भन्दा बढीलाई उद्धार गर्ने लक्ष्य राखिएको छ । खान युनिसको दक्षिणी गाजान सहरमा हवाई हमला, जबकि मध्य र उत्तरी गाजामा सुरुङ शाफ्ट र अन्य पूर्वाधारहरू ध्वस्त पार्न जमिन अपरेसनहरू सुरु गरेको बताइएको छ ।

कारबाहीमा करिब नौ हजार महिलाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय महिला कार्यक्रम (यूएन वुमन)ले शनिबार जनाएको छ । धेरै महिला भग्नावशेषमुनि परेको रिपोर्ट गरिएकाले यो आँकडा सम्भवतः कम भएको उक्त निकायले जनाएको छ ।

गाजामा युद्धका कारण दैनिक औसत ६३ महिलाको मृत्यु हुने गरेको छ । युद्धले गर्दा प्यालेस्टाइनी महिलाले परिवारका अरू सदस्य गुमाउनुपरेको र बाँचेका बालबच्चा समेतलाई असुरक्षाको अवस्था सिर्जना भएको यूएन वुमनले जनाएको छ ।

हरेक पाँचमध्ये चारभन्दा बढी वा ८४ प्रतिशत महिलाले उनीहरूको परिवारले द्वन्द्व सुरु हुनुअघि प्रयोग गरेको आधा वा कम खाना खाने गरेको रिपोर्ट राष्ट्रसंघीय निकायले गरेकोे छ ।

उनीहरूका परिवारका सदस्यले गएको हप्तादेखि खाना छोड्नुपरेको छ । तीमध्ये ९५ प्रतिशत आमा खानाबिना नै बस्ने र आफ्ना बच्चालाई खुवाउन उनीहरूले खानामा सम्झौता गर्ने गरेको यूएन वुमनले जनाएको छ ।

इजरायलले दक्षिणी गाजाको रफाह सहरमा आक्रमण गर्ने चेतावनी दिएको छ । भूमि आक्रमणको योजना यस हप्ताको सुरुमा इजरायली युद्ध क्याविनेटमा प्रस्तुत गरिएको थियो । इजरायली सेनाले बिहीबार उत्तरी गाजामा मानवीय सहायताको लागि पर्खिरहेका मानिसहरूको भीडमा गोली चलाउँदा कम्तीमा १०४ जनाको मृत्यु भएको छ ।

यसैबीच संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालयले बिहीबार गाजामा भोकमरी आउन सक्ने चेतावनी दिएको छ ।

त्यस्तै, अर्का निवासीले मानवीय सहायता (डेर अल–बालाहमा) शिविरमा मुश्किलले पुग्ने गरेको बताए । धेरै सीमित भएका कारण बालबालिका र महिलाहरूको लागि पर्याप्त नभएको बताए । उनले भने, “न खानेकुरा, न पिउने, न सुरक्षा, न सुरक्षा, न बास । यहाँ केही पनि छैन ।”

गाजाको २.३ मिलियन जनसंख्याले केही हप्ताभित्र खाद्य असुरक्षाको गम्भीरस्तरको सामना गर्नुपर्नेछ ।