
दुग्ध किसान र सरकारबीच वार्ता, हाेला त सहमति ?
आफुले ६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका दुग्ध किसानलाई सरकारले वार्तामा बोलाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शनिबार दिउँसो १ बजे आन्दोलन गरिरहेका दुध किसानको प्रतिनिधिमूलक संस्था राष्ट्रिय दुग्ध सहकारी संघलाई वार्ताका लागि बोलाएको हो ।
संघ अध्यक्ष अमर कुँवरले दिउँसो बोलाएको वार्तामा संघका पदाधिकारी र विभिन्न जिल्लाका किसान प्रतिनिधि सहभागी हुने बताए ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले किसानलाई शनिबार १ बजे वार्ताका लागि बोलाइएको र त्यहीँबाट समाधानका लागि प्रयत्न गरिने बताए । ‘किसानको समस्यालाई वार्ताका माध्यमबाट समाधान खोज्नेछौँ,’ उनले भने, ‘उहाँहरूलाई आन्दोलन गरेर दुःख नहुने गरी पैसा पाउने वातावरण बनाउन हामी प्रयत्नशील छौँ ।’
दुधको बक्यौता असुली गर्ने विषयमा कृषि मन्त्रालयसँग यसअघि पनि संघका पदाधिकारीले तीन–चारपटक छलफल गरिसकेका छन् । त्यसैले आजको वार्तामा कृषि मन्त्रालयका प्रतिनिधिसँगै अर्थ मन्त्रालयका प्रतिनिधि पनि हुनुपर्ने संघ अध्यक्ष कुँवरको माग छ । वार्ताका लागि संघका पाँचजना प्रतिनिधिलाई मात्रै बोलाइए पनि केही जिल्लाका किसानसमेत लिएर जाने उनले बताए । ‘किसानको वास्तविक पीडा सुनाउन भए पनि वार्ताको टेबलमा केही साना किसान लिएर जान्छौँ,’ अध्यक्ष कुँवरले भने ।
‘दुध बेचेको पैसा पाँच महिनादेखि नपाएपछि हामीले एक सातादेखि आन्दोलन गरिरहेका छौँ । आज (शुक्रबार) कृषि मन्त्रालयले लिखित पत्र पठाएर शनिबार १ बजे वार्ताका लागि बोलाएको छ,’ अध्यक्ष कुँवरले भने, ‘सरकारले बोलाएको वार्तामा जान्छौँ र आफ्ना कुरा राख्नेछौँ ।’
