भरतपुर भ्रमण वर्षको भब्य तयारी, उद्घाटनमा प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरू पनि
भरतपुर महानगरपालिकाले गर्न लागेको भ्रमण वर्ष २०२४ को उद्घाटन आज हुँदै छ । नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ।
नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर उद्घाटन हुने भ्रमण वर्ष २०२४ को उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विहबीबार नै चितवन पुगेका छन्।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि कार्यक्रममा सहभागी हुने छन्। नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने विहीबार नै चितवन पुगिसकेका छन्।
उद्घाटन कार्यक्रममा सबै जनालाई पूर्वप्रधानमन्त्रीको हैसियतमा निमन्त्रणा गरिएको भएपनि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने सहभागी नहुन बुझिएको छ ।
उद्घाटन समारोहमा करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ।
महानगरका गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, पर्यटकको सङ्ख्या र बसाइँ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रहरूको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको महानगरपालिका प्रमुख दाहालले बताइन्।
भरतपुर भ्रमण वर्ष–२०२४ का लागि महानगरले पर्यटकीय गन्तव्यहरू तोकेको छ। ती गन्तव्य र त्यहाँसम्म पुग्ने सडकलाई सफा र सुन्दर बनाउने, समग्र महानगरलाई स्मार्ट सिटीकारूपमा विकास गर्ने लक्ष्य राखिएको मेयर दाहालले बताइन्।
भरतपुरस्थित पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्रङ सडकलाई सन् २०२३ भित्रमै धुलोरहीत बनाउन पहल भइरहेको महानगरले जनाएको छ। दाहालले अन्य जीर्ण सडकहरूलाई पनि मर्मत सम्भार गरेर यातायातका लागि सहज बनाउने बताइन्।
‘महानगरपालिकालाई खाल्डाखुल्डी रहीत सडक बनाउने लक्ष्य हाम्रो छ। छ लेन सडक निर्माणमा ढिलो भइरहेको गुनासो छ, हामीले भ्रमण वर्ष सुरू हुनुअघि कम्तीमा धुलोरहीत बनाउन आग्रह गरेका छौं,’ दाहालले भनिन्, ‘सन् २०२४ मा भरतपुर घुम्न आउने पर्यटकलाई हामी यहाँको विकास, समृद्धि, सुन्दरता देखाउन चाहन्छौं।’