एमालेको रणनीतिः राष्ट्रियसभामा माओवादीलाई ब्याकअप दिने कांग्रेसबाट छुट्टाउने

मूलखबर संवाददाता
काठमाडौं

गत वर्ष अर्थात् २०७९ पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यो सहकार्य राष्ट्रपति निर्वाचनका क्रममा टुट्न पुग्यो । अब राष्ट्रिय सभा अध्यक्षको निर्वाचनसम्ममा पुस १० कै अवस्थामा पुर्‍याउन एमालेले सबै प्रयास गरिरहेको छ।

माओवादी नेताहरूले राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बनेको संवैधानिक परिषद्‌मा सहभागिता शून्य हुने र अब कांग्रेससँगको सहकार्यमा पुनर्विचार गर्ने अवस्था आएको बताउँदै राष्ट्रियसभा अध्यक्षमा उम्मेद्ववारी दिने निर्णय गरिसकेका छन्।

पाँच सदस्यीय संवैधानिक परिषद्‌‌मा प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिपक्ष दलका नेता हुन्छन् । अहिले प्रतिनिधि सभाका सभामुख र राष्ट्रियसभा अध्यक्ष प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) पृष्ठभूमिका क्रमश: देवराज घिमिरे र गणेशप्रसाद तिमिल्सिना छन् ।

आउँदो पुसपछि पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदबाट हट्नुपर्दा संवैधानिक परिषद्‌मा आफूहरूको सहभागिता शून्य हुने अवस्था रहेको उल्लेख गर्दै माओवादी नेताहरूले राष्ट्रियसभा अध्यक्ष पाउनुपर्ने बताएका छन् ।

यसअघि कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्षको रूपमा चर्चा गरिरहेको छ तर माओवादीमा कांग्रेससँगको सहकार्य फलदायी नभएको, राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेकी माओवादी नेतृ चम्पादेवी कार्कीलाई हराइएको र कांग्रेसको महासमिति बैठकले गठबन्धन प्रतिकूल निर्णय गरेको बुझाई विकास भएको छ।

विहीबार चितवन पुगेका प्रचण्डले आफूले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौलाजस्ता व्यक्ति आउनुपर्छ भनेको तर अहिले वातावरण परिवर्तन भएको बता। भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, “यो विषयमा ठोस निर्णय भएको छैन । छलफल चलेको छ ।”

पार्टीको बैठकले राष्ट्रियसभाको अध्यक्ष छोड्न नहुने बताएको उनले बताए । कोसीमा माओवादी केन्द्रको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसका कारण भएको भन्दै उनले पार्टीका नेता तथा कार्यकर्ताहरू आक्रोशित भएको बताए ।

र ठिक यही बेला एमाले राष्ट्रियसभा अध्यक्षको चुनावमा गठबन्धन फुटाउन चाहन्छ ।

एमाले नेताहरूले राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष आफूहरूले लिनेगरी सहमति हुनसक्ने बताइरहेका छन्। एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो एक अन्तर्वार्तामा राष्ट्रियसभामा माओवादीले अध्यक्ष दाबी गर्नु स्वभाविक भएको बताएका छन्।

उनले भनेका छन्, “पहिलो दल भएकाले माओवादीले दाबी गर्ने कुरा स्वाभाविक देखिन्छ। संवैधानिक परिषद्मा माओवादीको उपस्थिति प्रधानमन्त्रीको रूपमा मात्रै छ। भविष्यमा प्रधानमन्त्रीबाट प्रचण्ड हटेर अर्को कुनै दलको हुँदा स्वाभाविक रूपमा उसले आफ्नो भूमिका त्यो ठाउँका लागि खोजी गर्ने कुरा पनि हुन सक्छ।”

यसअघि पनि पटक-पटक गठबन्धन फुटाउने प्रयास गरेको एमाले राष्ट्रियसभा अध्यक्षको चुनावलाई गठबन्धन फुटाउने अन्तिम रणनीतिका रूपमा प्रयोग गर्ने प्रयासमा छ ।