यसकारण ट्रम्पलाई फेरि ह्वाइटहाउसमा देख्न चाहन्छन् पुटिन

मूलखबर संवाददाता
काठमाडौं

यस वर्षको अमेरिकी राष्ट्रपति चुनावमा दुवै अनुमानित उम्मेदवारहरूमा स्पष्ट कमजोरी देखिएका छन् । तिनै कमजोरीहरूले दुवैका लागि प्रतिकूल वातावरण सिर्जना गरिरहेका छन् ।

बढ्दो बुढ्यौली र संज्ञानात्मक कमजोरी जो बाइडेनको आलोचना हुनुको मुख्य कारण हो भने डोनाल्ड ट्रम्पलाई प्रजातन्त्र र अमेरिकाको राष्ट्रिय हितका लागि खतराको रूपमा लिने गरिन्छ ।

ट्रम्पले तानाशाहको प्रशंसा गर्छन् भनी आठ वर्षअघि डेमोक्र्याटहरूले पटक-पटक आक्रमण गर्ने गर्थे । उनीहरूको तर्क थियो, ‘ट्रम्पले तानाशाह लाद्ने सपना देख्छन् र अमेरिकी गठबन्धनका अन्य देशहरूलाई घृणा गर्छन् । ट्रम्पले वाशिङ्गटनको सम्पूर्ण विदेश नीतिलाई परिमार्जन गर्न चाहन्छन् ।’

यद्यपि यति धेरै नकारात्मक प्रचारका बावजुद पनि ट्रम्पले चुनाव जितेर देखाइदिए । त्यतिबेलाको निर्वाचनमा उनको पक्षमा रुसले गरेको हस्तक्षेपबारे विस्तृत विषयवस्तु बाहिर आएको छैन तर कुनै न कुनै हिसाबले रुसको प्रभाव परेको अमेरिकी र रुसी राजनीतिज्ञहरूले स्वीकारेका छन् ।

अहिले अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरूले ट्रम्प पुनः ह्वाइट हाउस प्रवेश गर्नु भनेको क्रेमलिनको विजय हो भन्ने तर्क गरिरहेका छन् । हामीले औपचारिक रूपमा त्यो दृष्टिकोण स्थापित गर्न सक्दैनौं तर एउटा अपेक्षा के हो भने ट्रम्पको दोस्रो कार्यकालमा उनले धेरै परिस्थिति सुधार गर्नेछन् ।

यस्तै धारणा २०१६-१७ मा ह्वाइट हाउसमा उनको पहिलो उपस्थितिको पूर्वसन्ध्यामा र अफिस सम्हालेलगत्तै बनाइएको थियो । यद्यपि अमेरिका-रुस सम्बन्ध वास्तवमा तीव्र रूपमा बिग्रियो । जे होस्, ट्रम्प आफैंले मस्कोसँग आफू जत्तिको कठोर कोही नभएको दोहोर्‍याएर थाकेनन् ।

त्यतिबेला ट्रम्पले लिएको नीतिअनुरुप रुसविरुद्ध नाकाबन्दी र अन्य प्रतिबन्धहरूको संख्याले इतिहासकै रेकर्ड तोड्यो । त्यसपछि ह्वाइट हाउस छिरेका बाइडेनका लागि ती प्रतिबन्धहरू ‘ड्राइ रन’ अर्थात् निल्नु न ओकल्नु बनेका छन् ।

त्यसो भए, यदि ट्रम्प आगामी नोभेम्बरमा हुने निर्वाचनमा राष्ट्रपति हुन सफल भएदेखि रुसले उनीबाट के आशा गर्न सक्छ त ? व्यावहारिक दृष्टिकोण र जीवन अनुभवको हिसाबले ट्रम्प एक व्यापारी र एक उद्यमी हुन्, वास्तवमा उनी एक व्यक्तिगत उद्यमी हुन् ।

उनले आफ्नो जीवनभर पारिवारिक व्यवसाय चलाएका छन्, जहाँ उनले सबै निर्णयहरू गर्छन् र आफ्ना कर्मचारीहरूले विनाशर्त आफ्नो निर्देशन पालना गर्ने अपेक्षा गर्छन् ।

उनको ब्रह्माण्डको केन्द्रमा उनी मात्र छन् । तर अब उनले अमेरिकाका लागि पनि आफ्नो हृदयमा ठाउँ बनाएका छन् । ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नाराको कार्यान्वयनमार्फत उनले आफू अमेरिकी इतिहासमै सबैभन्दा महान राष्ट्रपति बन्ने अठोट राखेको देखिन्छ ।

रुस लगायतका अन्य देशहरूले यतिबेला ट्रम्पप्रति थोरै मात्र चासो राखेका छन् । ट्रम्पको दिमागमा भने यी देशहरू केवल आफ्नो मुख्य लक्ष्य प्राप्त गर्न मद्दत गर्ने उपकरणहरू हुन् ।

पूर्व राष्ट्रपतिको व्यावसायिक मानसिकता एक मूल्यवान गुण हो । व्यवसायी जतिसुकै कडा किन नहोस्, उसको काम नाश गर्ने होइन, नाफाको दर बढाउने हो, नत्र भने व्यवसायले नै आफ्नो अर्थ गुमाउँछ ।

ट्रम्प लामो समयदेखि (सम्भवतः जिमी कार्टरपछि) एक नयाँ सैन्य अभियान शुरू नगर्ने पहिलो अमेरिकी राष्ट्रपति थिए । उनले अपनाएको ‘डरलाग्दो’ विदेशनीति र बयानबाजी, आफ्ना विरोधीमाथिको निन्दा र आक्रमणबाट उनी सधैं सावधानीपूर्वक पछाडि हटेका छन् ।

उनी सतर्क छन् र बुझ्न नसकिने जटिलताहरूले भरिएको परिस्थितिमा हस्तक्षेप गर्न अनिच्छुक छन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा यस्ता रणनीतिहरूको प्रभावकारिता सामान्यतया शंकास्पद हुन्छ । तर जहाँ ट्रम्पले चासो देखाउँछन्, त्यो चासो चीन र युरोपेली नाटो सदस्यहरूसँगको सम्बन्धमा देखिएको उनको चासोको रूपमा अभिव्यक्त हुने गर्छ ।

ट्रम्पले अपनाएका धेरै नीतिमध्ये अमेरिकी बजारमा विदेशी उत्पादनको पहुँचका लागि ट्रम्पले निर्धारण गरेका शर्त र अमेरिकाको सुरक्षाका लागि भुक्तान गर्नुपर्ने रकम दुवैको प्रमुख उद्देश्य पैसा कमाउनु थियो । ट्रम्प यसअघि दुवै मोर्चामा अघि बढ्न सफल भएका थिए ।

तर पहिलो कुरा के हो भने रणनीतिक साझेदार देशहरूबीचको सम्बन्ध र भूराजनीतिक हिसाबकिताबसँग जोडिएका जटिल समस्याहरूलाई वित्तीय स्तरमा मात्र समाधान गर्न सकिँदैन ।

जस्तै, ट्रम्पले उत्तर कोरिया र केही हदसम्म रुसका लागि आफ्नो गैर-वित्तीय दृष्टिकोण स्पष्ट गरेका थिए । तर आफ्नो स्वभाव र छविविपरीत ट्रम्प दुवैसँग सतर्क छन् । उनी ‘डु नट हार्म (कुनै हानी नगर)’को सिद्धान्तमा अडिग छन् ।

ट्रम्पलाई लगाइएको अलगाववादको आरोपको प्रमुख आधार अन्य देशमा घटिरहेको घटनाप्रति ट्रम्प उदासीन छन् भन्ने हो ।

ट्रम्पमाथि यस्तो आरोप लगाउनेहरू संगठित छन् । यो आरोपले आधुनिक अमेरिकाको सम्पूर्ण राजनीतिक-वैचारिक संरचनामाथि प्रश्न उठाएको छ । ती संरचनाहरू परम्परागत मूल्यमान्यताको विस्तारमा आधारित छन् र तिनै संरचनाले अन्य देशलाई अमेरिकी नेतृत्वको व्यवस्थामा ल्याउने प्रयास गरिरहेको छ ।

यस दृष्टिकोणको इतिहास बाइबलको च्याप्टर ५-७ मा रहेको ‘सर्मन अन द माउन्ट (पर्वतमाथि उपदेश)’सम्म पुग्छ । तर यो पहिले कहिल्यै निर्विवाद बन्न सकेको छैन ।

यो अमेरिकाको पूर्ण शक्तिद्वारा समर्थित दृष्टिकोण हो र विश्वव्यापी युगमा छ । यो दृष्टिकोणको स्वयंसिद्धतालाई चुनौती दिने प्रयास नै ट्रम्पको विदेश नीति प्रवृत्तिमाथि हुने आक्रमणको मुख्य कारण हो ।

मस्कोले ट्रम्पलाई समर्थन गर्छ भन्ने विश्वास गर्नेहरू पूर्णतया गलत छैनन् । तर उनीहरू खाटी रूस समर्थक पनि होइनन् ।

यदि सम्भावित रिपब्लिकन उम्मेद्वार (ट्रम्प)ले अन्ततः जिते भने त्यहाँ दुई सम्भावित परिदृश्यहरू हुनेछन् । पहिलो, वाशिङ्गटनको आन्तरिक राजनीतिमै द्वन्द्व देखिनेछ जसमा धेरै ऊर्जा अन्तर-पार्टी संघर्षमा खर्च गरिनेछ । यसले रुसलाई फाइदा गर्छ, किनभने ‘दुश्मन’ आन्तरिक द्वन्द्वमा व्यस्त रहनेछ ।

अत्यन्त प्रतिकूल परिस्थितिका बावजुद पनि यदि ट्रम्पले ह्वाइट हाउसमा दोस्रो पुनरागमन गरे भने अमेरिकाको ग्लोबल पोजिसन साँच्चिकै परिवर्तन हुनेछ । जसले विश्वका अन्य देशहरूका लागि नयाँ अवसर छनोट गर्ने सुविधा दिनेछ ।

ग्लोबल अफेयर्सबाट साभार