माझी समुदायकाे लदी पर्वमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

मूलखबर संवाददाता
काठमाडौं, १५ फागुन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माझी समुदायको प्रमुख पर्व लदी पर्वकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आदिवासीजनजाति अन्तरगत पर्ने अल्पसंख्यक माझी समुदायले हरेक वर्षकाे फागुन महिनाकाे तेस्रो अर्थात साहिँली मंगलबार मनाइने लदी पर्वकाे अवसरमा प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्दै माझी समुदायले परिवर्तन र अग्रगमनको पक्षमा लागिरहने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ-
अहिले मानिसको जीवनमा प्रकृतिसँगको सामिप्यता झन् बढि आवश्यक र सान्दर्भिक बन्दै गएको छ। यस अवसरमा प्रकृतिको संरक्षण र सदुपयोगमा माझी जातिको महत्त्वपूर्ण भुमिका हुने निश्‍चित छ ।

शुभकामनाकाे पुर्ण पाठ-

नेपालको आदिवासी जनजाती अन्तर्गत पर्ने अल्पसंख्यक सीमान्तकृत जाती माझी समुदायले हरेक वर्षको फागुन महिनाको साहिँली अर्थात तेश्रो मंगलबार मनाउने महान् चाड लदी पर्वको अवसरमा सम्पूर्ण माझी समुदायसहित नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश हो। नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ(आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन्। यी चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहकासाथ एक आपसमा एकता तथा सद्‍भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

माझी जाती परम्परागत रुपमा पानीसँग रमाउँदै र जीवन चलाउँदै आएको एक विशिष्ट पहिचान भएको प्रकृतिपुजक इमान्दार एवम् परिश्रमी जाती र समुदाय हो। विकासका पुर्वाधार, जलविद्युत, सडक लगायतका विकासका पूर्वाधारको निर्माणका कारण यस जातीको परम्परागत पेशा विस्तारै लोप हुँदै गएको छ। तथापी माझी जातीले आजको दिनमा विशेष गरेर नदी र पानीको पुजा गरी मनाउन लागेको चाडपर्वले माझी जाती र पानीको सम्बन्धलाई थप उजागर एवम् स्थापित गर्नेछ। अहिले मानिसको जीवनमा प्रकृतिसँगको सामिप्यता झन् बढि आवश्यक र सान्दर्भिक बन्दै गएको छ। यस अवसरमा प्रकृतिको संरक्षण र सदुपयोगमा माझी जातिको महत्त्वपूर्ण भुमिका हुने निश्‍चित छ।

वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको छ। जनताको जीवनमा गुणात्मक परिवर्तन सहित अवस्था बदल्न सरकार दृढ संकल्पित ‍छ। सम्पूर्ण नेपालीलाई साँस्कृतिक विविधताबिच एकता कायम गर्दै मौलिक नेपाली सँस्कृतिको संरक्षण एवम् संवर्धन गर्न र यस पर्वलाई माझी जाती र अन्य समुदायको बिचमा एकता, सद्‍भाव र सहकार्यमार्फत थप सुदृढ बनाउने ऐतिहासिक अवसरका रूपमा मनाउन हार्दिक अपिल गर्दछु।

अन्त्यमा, यस पर्वले विगतमा केन्द्रीकृत सामन्ती राज्यव्यवस्थाद्वारा निरन्तर उत्पीडनमा पारिएको र जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापश्‍चात् राज्यको नीति निर्माण लगायत सबै क्षेत्र र तहमा प्रतिनिधित्व बढाउँदै लगेको माझी जातीले निरन्तर परिवर्तन र अग्रगमनको पक्षमा आफुलाई उभ्याइराख्‍ने विश्‍वास व्यक्त गर्दै अन्य जाती समुदायबीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षाका साथ सम्पूर्ण माझी समुदायप्रति लदी पर्वको अवसरमा पुनः शुभकामना व्यक्त गर्दछु।