प्रचण्ड सरकारको कूटनीतिक प्रभावः कतारका राजाको नेपाल भ्रमण तय

मूलखबर संवाददाता
काठमाडौं

विश्वमञ्चमा नेपाली कूटनीतिलाई नयाँ उचाइमा पुर्‍याएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई अर्को कूटनीतिक सफलता हात लागेको छ।

कतारका राता अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने र त्यस क्रममा दुई देशबीच ऐतिहासिक तथा दीर्घकालीन महत्त्वका समझदारीहरू हुने पक्का भएको छ।

नेपालीहरूको एउटा प्रमुख श्रम गन्तव्यका रूपमा रहेको कतारका सरकार तथा राष्ट्र प्रमुखले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक भएको बताइएको छ।

भ्रमणका क्रममा नेपाल र कतारबीच विकास साझेदारीसम्बन्धी समझदारीसमेत हुने छन्। समझदारीसँगै कतारले नेपालमा दाताको रूपमा विभिन्न विकास/निर्माण क्षेत्रमा लगानी गर्ने बाटो खुल्ने अधिकारीहरू बताउँछन्।

विकास साझेदारीसम्बन्धी कम्तीमा आठवटा समझदारीबारे छलफल भएर मस्यौदाहरू आदानप्रदान भइसकेको र केहीलाई अन्तिम रूप दिइसकेको उनीहरूको भनाइ छ। विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा कतारको विकास सहायतालाई स्वीकार्ने निर्णय भइसकेको अधिकारीहरू बताउँछन्।

कतारको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी निकाय ‘कतार फन्ड फर डेभलपमेन्ट’ (क्यूएफएफडी)मार्फत् नेपालले त्यस्तो सहायता पाउनेछ।

हालसम्म औपचारिक रूपमा कतारबाट त्यस्तो सहायता नआएको बताइन्छ। अमिरको भ्रमणका क्रममा भने त्यसबारे समझदारीपत्रमा हस्ताक्षर हुने अधिकारीहरूको भनाइ छ।

श्रममन्त्री भण्डारीले सन् २००५ मा नेपाल र कतारबीच भएको तर खासै कार्यान्वयनमा नआएको श्रम सम्झौताको नयाँ मस्यौदा तयार पारिएको बताएका छन्।

उनले उक्त सम्झौतासम्बन्धी समझदारीपत्रमा अमिरको भ्रमणका क्रममा दुई देशबीच हस्ताक्षर गर्ने योजना बनाइएको बताए। भण्डारीले भने, “मस्यौदा हामीले कतारलाई पठाएका छौँ। मार्च तेस्रो सातादेखि एप्रिल पहिलो सातासम्ममा कतारका अमिरको भ्रणम हुनेछ र त्यसमा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।”