मौसम विभागले भन्यो- हिउँदै वर्षाको सम्भावना बाँकी छ

मूलखबर संवाददाता
काठमाडौं

यो वर्षको हिउँद अवधि सकिन करिब पाँच दिन बाँकी छ । मौसमविद्का अनुसार हिउँदमा वर्षाको सम्भावना पनि बाँकी नै छ ।

जल तथा मौसम विज्ञान विभागले गएको मंसिर १५ देखि यही फागुन १७ गतेसम्म तीन महिनाको समयलाई हिउँद अवधि भनेको थियो । त्यति बेला विभागले यो अवधिमा हुने हावापानीको आकलन गरेको थियो । तर, अनुमानानुसार वर्षा नभएको मौसमविद् स्वयंले बताइरहेका छन् ।

यो हिउँदमा अझै वर्षा भने हुन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल बताउँछन् । अवधि अझै बाँकी रहेकाले हिउँदे वर्षाको सम्भावना टरेको भन्न नमिल्नेमा उनी जोड दिन्छन् ।

“हिउँद अझै बाँकी छ । वर्षाको सम्भावना पनि छ । टरिसकेको छैन,” उनले भने, “मौसमी प्रणाली एक/दुई दिन यताउता हुनसक्छ । मोटामोटी अवधि निकाले पनि यही मितिमा हिउँद टुंगिन्छ भन्ने हुँदैन ।”

यो हिउँद अवधिमा थप नयाँ मौसमी प्रणाली भित्रने सम्भावना रहेको उनले जानकारी दिए । त्यसको प्रभावले हल्का वर्षा हुन सक्ने उनको भनाइ छ ।

महाशाखाले आफ्नो वेबसाइटमार्फत तीन दिनको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्ने गर्छ । शनिबार बेलुका जारी बुलेटिनमा हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ । देशभर वर्षा हुने खालको विवरण त्यसमा उल्लेख छैन ।

“अबको ५–१० दिनमा नयाँ सिस्टम भित्रने सम्भावना छ,” उनले भने, “बुलेटिनमा तीन दिनको मात्र उल्लेख गर्ने गरेका छौँ । एक/दुई दिनमा स्पेसल बुलेटिन आउन सक्छ ।”

गएको बिहीबार देशभर हल्का वर्षा भएको थियो । नयाँ प्रणाली भित्रिएको अवस्थामा हिउँद अवधिमै सोही प्रकारको वर्षा हुन सक्ने उनले बताए ।

उनका अनुसार, अब देशभर तापक्रम क्रमशः बढ्दै जानेछ । तापक्रमसँगै मौसमी गतिविधि पनि बढ्ने उनले जानकारी दिए ।

“अब तापक्रम बढ्दै जान्छ । पानी परेपछि एक/दुई दिन चिसो भयो,” मौसमविद् अर्यालले भने, “तापक्रम बढेपछि धेरै खाले मौसमी गतिविधिहरू बढ्छ ।”

विशेष परिस्थितिमा बाहेक यो वर्ष अब तापक्रममा धेरै गिरावट आउने सम्भावना नरहेको उनले बताए । तर, अब तापक्रम नघट्ने निष्कर्षमा अहिल्यै पुग्न नहुने उनले स्पष्ट पारे ।

गएको माघ १४ गते काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको थियो । यो वर्षका निम्ति काठमाडौंमा त्यो नै अहिलेसम्म कम तापक्रम हो ।

“तापक्रम अब घट्दै घट्दैन त भन्न मिल्दैन, चैतमा पनि हिउँ परेको हामीसँग रेकर्ड छ,” उनले भने, “त्यस्तो अवस्थामा बाहेक काठमाडौंमा यो वर्ष तापक्रम २.१ डिग्री सेल्सियसभन्दा तल जाने सम्भावना छैन ।”