बंगलादेशमा बिजुली बेच्दै नेपाल : आज मूल्य निर्धारण

मूलखबर संवाददाता
काठमाडौं, १० फागुन

नेपाल लाेडसेडिङकाे अँध्यारो मुलककाे पहिचानबाट उज्यालो नेपाल हुँदै बिजुली निर्यातको उत्कृष्ट देश बन्ने दिशामा जाँदै छ ।

बंगलादेशमा निर्यात गरिने बिजुलीको खरिद–बिक्रीदर तय गर्न नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेश प्रस्थान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बुधबार बंगलादेश गएको हो ।

टोलीले बिहीबार बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफल गरेर विद्युत् खरिद–बिक्रीदर टुंगो लगाउनेछ । टोलीमा प्राधिकरणका उच्च अधिकारीसहित कानुन तथा विद्युत् व्यापार बिभागका प्रतिनिधिहरू छन् । बिहीबार छलफलले पीपीए दरसँगै भुक्तानी गर्ने समयसीमा, विद्युत् उपलब्ध गराउन नसके हुने पेनाल्टीलगायत बिषयमा पनि सहमति गरिनेछ ।

ह्विलीङ चार्ज भने बंगलादेशले नै तिर्ने प्रारम्भिक सहमति भएको छ ।बंगलादेशले गत माघ दोस्रो साता ४० मेगावट विद्युत् किन्ने नेपालसँग प्रस्ताव मागेको थियो । त्यसलगत्तै प्राधिकरणले बंगलादेशमा पेस गरेको प्रस्तावमा बिहीबार छलफल गरी अन्तिम रूप दिइने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिएका छन् ।

बंगलादेशमा विद्युत् बिक्री गर्न भारतलाईसमेत समावेश गराएर छुट्टै त्रिपक्षीय सम्झौता हुँदै छ । जुन सम्झौता विद्युत् व्यापारसम्बन्धी सर्त तथा प्रावधानमा केन्द्रित हुनेछ,’ बंगलादेश प्रस्थान गर्नुअघि उनले भने, ‘त्योबाहेक बंगलादेशमा बिक्री गरिने विद्युत्को मूल्य तय गर्न छुट्टै द्विपक्षीय सम्झौता आवश्यक थियो । त्यसपछि खरिद प्रक्रियामार्फत यसको मूल्य तय गरिँदै छ । बिहीबारकै छलफलबाट त्यो दर तय हुनेछ ।’ ययाे खबर नयाँ पत्रिकामा छ ।