एमालेमा जर्वजस्त उठ्यो यौन विचलनको कुरा, कारवाहीका लागि फरक-फरक सुझाव

मूलखबर संवाददाता
काठमाडौं

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिनदेखि काठमाडौंमा जारी छ । विगतका भन्दा यसपल्टको बैठकको रौनक एमालेमा फरक देखिएको छ । एमालेमा ‘शुद्धीकरण’को एजेन्डाले प्रवेश पाएको छ ।

पार्टी उपाध्यक्ष विष्णु पौडेलले मंगलबारबाट सुरू भएको सातौं केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेको पार्टी निर्माणसम्बन्धी अवधारणामा उक्त कुरा समेटिएको छ।

‘अहिले पार्टीको केन्द्रीय तहमा नीति, नेतृत्वमा कुनै मतभेद छैन। दसौं महाधिवेशनयता केन्द्रीय तहका हरेक निर्णय सहमति वा सर्वसम्मतिमा भएका छन्। त्यहाँ कसैको असहमति वा फरक मत छैन। त्यसैगरी हामी सबै नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा दसौं राष्ट्रिय महाधिवेशनका निष्कर्ष कार्यान्वयन गर्दै अघि बढ्न प्रतिबद्ध छौं। तर, प्रदेश र स्थानीय कमिटीहरू अन्तरविरोधग्रस्त छन्,’ पौडेलले निष्कर्ष निकाल्दै भनेका छन्, ‘कतिपयमा त गुटबन्दी गम्भीर विकृति देखापर्न थालेका छन्। कमिटी प्रणालीलाई बेवास्ता गर्ने र निश्चित व्यक्तिको सेटिङमा पार्टीलाई बन्धक बनाउन खोज्ने प्रवृत्ति हुर्किँदै गएको छ।’

पार्टीभित्र प्रचलित कानुन प्रतिकूल, नैतिक दृष्टिले अनुचित र अपारदर्शी आर्थिक क्रियाकलाप देखापर्न थालेको उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक आचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्ने विकृति हुर्किन थालेकोप्रति प्रतिवेदनमा चिन्ता व्यक्त गरिएको छ।

‘यस्तो प्रवृत्तिले नेता-कार्यकर्ता र समग्र पार्टीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको छ। हामीले आर्थिक सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरूलाई सम्बन्धित कमिटीको छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा त्यस्तो प्रवृत्तिलाई प्रोत्साहित हुन पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ।

पौडेलले राखेको प्रस्तावमा आर्थिक र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने प्रवृत्तिले जनताबाट अलग गर्ने खतरा पैदा भएकाले उल्लेख छ ।

बझाङका ऐन महर, जुम्लाका सुरतबहादुर शाही, मुगुका मोहन बानियाँ, एमाले कर्णाली प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष गुलाबजंग शाह, कालिकोटका कुर्मराज शाही मात्र होइन, भक्तपुरका महेश बस्नेतलगायत चारित्रिकरूपमा विवादित भएका छन्।

कतिपय नेताका काण्ड बाहिर छताछुल्ल भएका छन् भने केहीका विरुद्ध पार्टी नेतृत्वसमक्ष उजुरी पुगेका छन्। यी बग्रेल्ती घटनाहरूपछि एमाले अध्यक्ष ओली पनि आक्रोशित छन्। त्यसैले शुद्धीकरण अभियान चलाउनुपर्ने प्रस्ताव राखेका छन्।

आर्थिक र यौनसम्बन्धीका अडियोसमेत सामाजिक सञ्जालमा छरपस्ट हुन थालेपछि एमालेमा त्यो बहसको विषय बनेको हो । केही दिनअघिको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीबाट सदस्यहरू ऐन महर र सिराज अहमद फारुकीलाई कारबाही गरेको थियो । त्यहीबाट शुद्धीकरण सुरु भएको नेताहरू बताउँछन् ।

“सचिवालयको बैठकले उनीहरूलाई कारबाही गरेपछि नै शुद्धीकरण सुरु भइसकेको छ,” एक सचिवालय सदस्य भन्छन् ।

समूहगत छलफलमा कतिपय नेताहरूमाथि पूर्वाग्रही ढंगले आरोप लाग्ने गरेको भन्दै सत्यतथ्य छानबिन गर्नुपर्ने विषय उठेको छ ।

“चारित्रिक हिसाबले कुरा उठेका छन् । माथिदेखि तलसम्म नै यस्ता समस्या छन् । त्यस्ता प्रवृत्ति सच्याउने, कारबाही गर्नुपर्छ । कुनै पूर्वाग्रह हिसाबले उठिरहेका छन् । त्यसबारे सत्यतथ्य हेरर कारबाहीको दायरमा ल्याउनुपर्छ भन्ने विषय उठेको छ,” कोसी प्रदेशको समूहगत छलफलमा उठेको विषयबारे एक नेताले जानकारी दिए ।

त्यस्तै, वाग्मती प्रदेशको समूहमा पनि आर्थिक अपचलन र यौनका विषयबाट पार्टीलाई मुक्त राख्नुपर्ने विषय उठेको एक नेताले जानकारी दिए ।

“व्यक्तिहरूका बारेमा कुरा उठ्ने गरेको छ । यो कम्युनिस्ट आचरण होइन । आर्थिक सवाल र यौनलगायतका विकृतिबाट पार्टी र नेतालाई अलग गर्नुपर्छ । कारबाही गरिनुपर्छ भन्ने कुरा उठेको छ,” उनले भने ।

अन्य प्रदेशका छलफलमा पनि सोही कुरा उठेका छन् । यसपटक एमालेको केन्द्रीय कमिटी बैठकमा पहिलेको तुलनामा गम्भीर विषयले प्रवेश पाएको छ । अहिले आफ्ना कुराहरू स्पष्टरूपमा राख्न सकिएको नेताहरू बताउँछन् ।