नेवार समुदाय चाकु बनाउनमा व्यस्त
माघे सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ । यस समयमा काठमाडौँ, भक्तपुर र ललितपुरका अधिकांश नेवार समुदाय चाकु बनाउनमा व्यस्त छन् । काठमाडौँ उपत्यकाको उत्तरी भेगको मध्य भागमा रहेको प्राचीन सहर टोखा नेवार बस्ती हो ।
टोखामा चाकु बनाउन व्यवसायीहरू त व्यस्त छन् नै उपत्यका र उपत्यकाबाहिरबाट चाकु किन्न आउने व्यापारीको समेत बजारमा चहलपहल बढेको छ । टोखा बजारमा चाकु उत्पादन गर्ने व्यवसायीहरूका लागि समाज नै गठन गरिएको छ । मागअनुसारको चाकु उत्पादन गर्दै आइरहेको टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ बताउनुहुन्छ ।
उहाँले बजारमा चाकुको मागअनुसार उत्पादन गर्न समस्या भइरहेको बताउनुभयो । बजारमा सख्खरको मूल्य बोरामा दुई/तीन सय रुपियाँले बढेको भए पनि चाकु भने पुरानै भाउमा बेच्नुपरेको उहाँको भनाइ छ । टोखामा चाकुको भाउ प्रतिकिलो १०० रुपियाँदेखि १४० रुपियाँसम्म रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
आफूहरूले चाकुको मूल्य तोक्नको लागि बैठक नै आह्वान गरेको भए पनि बिचौलियाको कारण समस्या भएको उहाँको दुःखेसो छ । बिचौलियाहरूलाई चाकु धेरै दिन राख्न नमिल्ने भएका कारण सस्तोमा दिन्छन् भन्ने सोच विकास भएको कारण आफूहरूले उचित मूल्य पाउन नसकेको श्रेष्ठ गुनासो गर्नुहुन्छ ।
अहिले सख्खरको मूल्य चाहिँ बोरामा दुई,तीन सय मूल्यले बढेको छ । तर हामीले चाकु पुरानै मूल्यमा दिइरहेका छौँ । हामीले टोखा परम्परागत चाकु संरक्षण समाजबाट मूल्य तोक्ने भनेर मिटिङ बसेका थियौँ । तर बिचौलियाहरूले गर्दा हामीलाई नै समस्या पार्न खोज्यो । हामीसँगै ललितपुर र भक्तपुरमा पनि मङ्सिरदेखि नै चाकु बनाउनुहुन्छ । कामदार पनि धेरै राख्नुहुन्छ । चाकुलाई धेरै समय स्टक राख्न नहुने भएका हुनाले अहिले सस्तो दिइहाल्यो भनेपछि पनि सस्तो दिइहाल्छ भनेर बिचौलियाहरूले रेट बिगार्ने काम भयो । जति चाकु बनाउनका लागि मेहनत परिश्रम लाग्छ त्योअनुसारको नाफा छैन । हामीले घरसम्मै आउने ग्राहकलाई प्रतिकिलो चाकु १३५ रुपियाँमा दिइरहेका छौँ । तर त्यही चाकु बजारमा गइसकेपछि २०० रुपियाँभन्दा माथि जाने सम्भावना छ ।’